जनकपुरधामका निजी विद्यालयका समस्या तत्काल सम्बोधन गर्न माग
2 घन्टा पहिले प्रकाशित
जनकपुरधाम, भाद्र २४ गते । जनकपुरधाम उपमहानगरपालिकाभित्र सञ्चालित संस्थागत विद्यालयसँग सम्बन्धित विभिन्न समस्या तत्काल समाधान गर्न माग गर्दै निजी शिक्षाका छाता संगठनहरूले नगर प्रमुखको ध्यानाकर्षण गराएका छन्।
प्याब्सन, एन–प्याब्सन, हिसानलगायतका संस्थाले नगर प्रमुखलाई ध्यानाकर्षणपत्र बुझाउँदै जनकपुरधामलाई शैक्षिक हबका रूपमा विकास गर्न शैक्षिक वातावरण सुदृढ र सबल बनाउन आवश्यक रहेको बताएका छन्।
प्रदेश राजधानीसमेत रहेको जनकपुरधाममा शिक्षाको विकासका लागि नगर प्रमुखबाट भएका पहल सकारात्मक देखिए पनि ती पहलहरू प्रचारमा मात्र सीमित भएको आफूहरूको महसुस रहेको संगठनहरूले बताएका छन्। विभिन्न सञ्चारमाध्यम तथा डिजिटल माध्यमबाट हुने प्रचारभन्दा समस्याको व्यावहारिक समाधानमा ध्यान दिन उनीहरूले आग्रह गरेका छन्।
ध्यानाकर्षणपत्रमा अनुमति प्राप्त गरी थप कक्षा सञ्चालनका लागि अनुमति माग गरेका विद्यालयलाई चैत्र मसान्तभित्र अनुमति प्रदान गरी त्यसको सार्वजनिक जानकारी गराउन माग गरिएको छ।
त्यस्तै, स्थानीय विषय लागू भए पनि हालसम्म त्यसको पाठ्यपुस्तक उपलब्ध हुन नसकेको भन्दै तत्काल पुस्तक उपलब्ध गराउन माग गरिएको छ। संस्थागत विद्यालयको शुल्क निर्धारण भइसके पनि त्यसको प्रभावकारी कार्यान्वयन हुन नसकेको विषयमा समेत संगठनहरूले नगरपालिकाको ध्यानाकर्षण गराएका छन्।
संस्थागत विद्यालयहरूको अनुगमन गरी वर्गीकरण गर्नुपर्ने व्यवस्था भए पनि हालसम्म वर्गीकरण हुन नसकेको भन्दै यसको कारण स्पष्ट गरी तत्काल प्रक्रिया अघि बढाउन माग गरिएको छ।
अनुमति प्राप्त विद्यालयमध्ये केहीले अनुमति लिएको भन्दा माथिल्लो कक्षा सञ्चालन गरिरहेको अनुगमनबाट देखिए पनि हालसम्म कारबाही हुन नसकेको भन्दै त्यस्ता विद्यालयमाथि आवश्यक कारबाही गर्न आग्रह गरिएको छ।
त्यसैगरी, बिना दर्ता सञ्चालनमा रहेका विद्यालयहरूलाई तत्काल बन्द गर्न तथा अनुमति प्राप्त गरे पनि सञ्चालनमा नरहेका विद्यालयको यकिन गरी आवश्यक प्रक्रिया अघि बढाउन ध्यानाकर्षणपत्रमा माग गरिएको छ।
निजी शिक्षाका संगठनहरूले उल्लेखित विषयमा यथाशीघ्र कार्यान्वयनको प्रक्रिया अघि बढाउन जनकपुरधाम उपमहानगरपालिकासँग आग्रह गरेका छन्।
_1788955550_0.jpeg)
कमेन्ट गर्नुहोस्
view comments