गुठिको जग्गा खाली गर्न पत्र काटेपछि स्थानीय आन्दोलित
1 घन्टा पहिले प्रकाशित
जनकपुरधाम, भाद्र २३ गते । उपमहानगरपालिका–१४ स्थित लवकी पोखरीको डिल तथा आसपासको जग्गा खाली गराउन राजगुठीले जारी गरेको सातदिने सूचनाको स्थानीयवासीले विरोध गरेका छन् ।
राजगुठीले पोखरी तथा डिल क्षेत्रमा भएको भनिएको अतिक्रमण हटाई जग्गा खाली गराउन सूचना जारी गरेपछि स्थानीयवासी विरोधमा उत्रिएका हुन् । स्थानीयवासीले सम्बन्धित जग्गा गुठी संस्थानको स्वामित्वमा नरहेको दाबी गर्दै सूचना पुनरवलोकन गर्न माग गरेका छन् ।
स्थानीयवासीका अनुसार जग्गाको स्वामित्व, नापी तथा कानुनी अवस्थाबारे आवश्यक छानबिन नगरी एकतर्फी रूपमा जग्गा खाली गराउने सूचना जारी गरिएको हो । उनीहरूले जग्गाको वास्तविक स्वामित्व र अधिकार यकिन गरी कानुनी प्रक्रिया पूरा गरेपछि मात्र कुनै निर्णय लिनुपर्ने बताएका छन् ।
सूचनाको विरोधमा स्थानीयवासीले मंगलबार जनकपुरधामस्थित पिडारी चोकमा चक्काजामसहित प्रदर्शन गरेका थिए । चक्काजामका कारण केही समय उक्त क्षेत्रमा सवारी आवागमनसमेत प्रभावित भएको थियो ।
प्रदर्शनमा सहभागी स्थानीयवासीले आफूहरूको मागलाई बेवास्ता गरिए आन्दोलन थप सशक्त बनाउने चेतावनी दिएका छन् । उनीहरूले सम्बन्धित निकायसँग तत्काल वार्ता गरी विवादित जग्गाको स्वामित्व तथा कानुनी अवस्थाबारे निष्पक्ष छानबिन गर्न माग गरेका छन् ।
कमेन्ट गर्नुहोस्
view comments