कांग्रेसको विवाद अदालतबाट होइन, विधान र लोकतान्त्रिक प्रक्रियाबाट समाधान गर्नुपर्छ : प्रवक्ता चालिसे

19 घन्टा पहिले प्रकाशित

काठमाडौं, भाद्र ९ गते । नेपाली कांग्रेसका प्रवक्ता देवराज चालिसेले पार्टीभित्र देखिएको विवाद तथा असन्तुष्टिको समाधान अदालतबाट नभई पार्टीको विधान र लोकतान्त्रिक प्रक्रियाबाट खोजिनुपर्ने बताएका छन्। संस्थापन इतर समूहले १५औँ महाधिवेशनको प्रक्रिया रोक्न माग गर्दै सर्वोच्च अदालतमा निवेदन दर्ता गरेपछि सामाजिक सञ्जालमार्फत धारणा सार्वजनिक गर्दै चालिसेले पार्टीको नेतृत्व कसले गर्ने भन्ने निर्णय अदालतले नभई कांग्रेसका लाखौँ कार्यकर्ताले गर्नुपर्ने बताएका हुन्। उनले कानुनी विवादको निरूपण अदालतले गर्ने भए पनि पार्टीको नेतृत्व चयन गर्ने अधिकार कार्यकर्ताको मतलाई रहेको स्पष्ट पारे।

चालिसेले महाधिवेशन रोक्न अदालत गुहार्ने प्रवृत्तिमाथि प्रश्न उठाउँदै पार्टीभित्रको असन्तुष्टि र फरक मतलाई विधान तथा लोकतान्त्रिक प्रक्रियामार्फत समाधान गर्नुपर्ने बताए। पछिल्लो विवाद पार्टीको नीति, विचार वा कार्यक्रमभन्दा नेताहरूको व्यक्तिगत राजनीतिक भविष्यसँग बढी जोडिएको उनको दाबी छ। राजनीतिक विचारमा फरक मत हुनु स्वाभाविक भए पनि त्यसलाई पार्टीभित्रै छलफल र लोकतान्त्रिक प्रक्रियाबाट टुङ्ग्याउनुपर्ने भन्दै उनले पार्टीप्रति जनताको विश्वास कमजोर पार्ने गतिविधि नगर्न नेताहरूलाई आग्रह गरेका छन्। चालिसेले व्यक्तिगत राजनीतिक स्वार्थभन्दा पार्टीको भविष्यलाई माथि राख्नुपर्नेमा जोड दिएका छन्।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?