बागमतीका असन्तुष्ट नेकपा सांसदले मुख्यमन्त्री थापालाई विश्वासको मत दिने
19 घन्टा पहिले प्रकाशित
काठमाडौं, भाद्र ९ गते । बागमती प्रदेशमा नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का असन्तुष्ट सांसदहरूले मुख्यमन्त्री किरण थापालाई विश्वासको मत दिने भएका छन्। पार्टी संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग मंगलबार भएको भेटवार्तापछि असन्तुष्ट सांसदहरू मुख्यमन्त्री थापाको पक्षमा मतदान गर्न सहमत भएका हुन्।
मन्त्रालय भागबण्डामा नेकपाले सभामुखसहित दुई मन्त्रालय पाएकोमा थप दुई मन्त्री नियुक्त गर्नुपर्ने माग गर्दै केही सांसद असन्तुष्ट थिए। छलफलमा हाल कायम आठवटा मन्त्रालयको संख्या नबढाउने, गठबन्धनको ठूलो दलका रूपमा नेकपाले एक सभामुख र तीन मन्त्री पाउने वातावरण बनाउने तथा राष्ट्रिय प्रजातन्त्र पार्टीसँग मिलेर सरकार गठन गर्ने विषयमा पार्टीको सैद्धान्तिक अडानअनुसार निर्णय गर्नुपर्ने सहमति भएको जनाइएको छ। यसका लागि प्रदेशका दलका नेता र उपनेतालाई समेत सहभागी गराई केन्द्रीय कार्य संयोजन समितिबाट नीतिगत निर्णय गर्ने प्रस्ताव गरिएको छ।
यसअघि नेकपाका संसदीय दलका नेता शालिकराम जम्कट्टेलले पार्टीभित्र पर्याप्त छलफल नगरी एकलौटी निर्णय गरेको र अवसर बाँडफाँटमा पूर्वमाओवादी पृष्ठभूमिका नेताहरूलाई प्राथमिकता दिएको भन्दै केही सांसद असन्तुष्ट बनेका थिए। सोमबार मुख्यमन्त्री थापाले विश्वासको मत लिने तयारीका क्रममा केही सांसद प्रदेशसभा बैठकमा अनुपस्थित भएपछि विवाद सार्वजनिक भएको थियो। मंगलबार प्रचण्डसँग गंगानारायण श्रेष्ठ, कृष्ण खनाल, राजेन्द्रमान श्रेष्ठ, युवराज चौलागाईं, रुकु चौलागाईं, लक्ष्मण लम्साल, उर्मिला लामा र ओमकुमारी श्रेष्ठले भेटवार्ता गरेका थिए। यससँगै मुख्यमन्त्री थापाले विश्वासको मत लिने कार्यसूचीसहित मंगलबार दिउँसो ४ बजे प्रदेशसभा बैठक बोलाइएको छ।
कमेन्ट गर्नुहोस्
view comments