गरिमा चौधरी हत्या प्रकरण : आरोपीको भिडियो सामाजिक सञ्जालमा सार्वजनिक भएपछि प्रहरी अनुसन्धानमाथि प्रश्न
13 घन्टा पहिले प्रकाशित
जनकपुरधाम, भाद्र ८ गते । बाराको सिमरामा तीन वर्षीया गरिमा चौधरीको बलात्कारपछि हत्या गरेको आरोपमा पक्राउ परेका १६ वर्षीय किशोरको भिडियो सामाजिक सञ्जालमा सार्वजनिक भएपछि प्रहरीको अनुसन्धान प्रक्रियामाथि प्रश्न उठेको छ। अनुसन्धानका क्रममा चिकित्सकले आरोपीसँग गरेको सोधपुछको भिडियो सामाजिक सञ्जालमा सार्वजनिक भएको हो। भिडियोमा आरोपी किशोरले घटनाको योजना र घटनाक्रमबारे बोलेको देखिन्छ। उनले आफू र जितपुरसिमरा उपमहानगरपालिका निवासी प्रदीप खड्कासँग मिलेर बालिकामाथि बलात्कार गरी हत्या गरेको दाबी गरेका छन्।
घटनाको अनुसन्धानसँग सम्बन्धित संवेदनशील सामग्री सामाजिक सञ्जालमा कसरी सार्वजनिक भयो भन्ने विषयमा जिल्ला प्रहरी कार्यालय बाराले छानबिन थालेको जनाएको छ। जिल्ला प्रहरी प्रमुख एसपी नरेन्द्र कुँवरले अस्पतालमा चिकित्सकले आरोपीसँग गरेको सोधपुछको भिडियो बाहिरिएको र त्यसबारे अनुसन्धान भइरहेको बताउनुभयो। घटनाबारे डीएसपी मीनबहादुर घलेको नेतृत्वमा छानबिन टोली परिचालन गरिएको प्रहरीले जनाएको छ। आरोपी नाबालिग भएकाले अनुसन्धानका क्रममा गोपनीयता र कानुनी प्रक्रियाको पालना महत्वपूर्ण हुने देखिएको छ।
कमेन्ट गर्नुहोस्
view comments