सर्लाहीमा ४६ वर्षीय पुरुष मृत फेला, परिवारद्वारा हत्या आशंका
15 घन्टा पहिले प्रकाशित
जनकपुरधाम, भाद्र ८ गते । सर्लाहीको बरहथवा नगरपालिका–७ तीनघरियामा सोमबार बिहान एक पुरुष मृत अवस्थामा फेला परेका छन्। बरहथवा नगरपालिका–३ भगवतीपुरका ४६ वर्षीय राजेश्वर पुरी सोही स्थानमा किराना पसल सञ्चालन गर्दै आएका थिए। उनलाई कलभर्टमुनि नालीमा मृत अवस्थामा फेला पारिएको इलाका प्रहरी कार्यालय बरहथवाले जनाएको छ। स्थानीयका अनुसार पुरी आइतबार राति गाउँमा आयोजित भोजमा सहभागी भएका थिए।
मृतकका ज्वाइँ सुवास गिरीले पसलमा उधारो खाने व्यक्तिहरूले रातभर भोज खुवाएर हत्या गरेको आशंका गर्दै घटनामा संलग्नलाई तत्काल पक्राउ गर्न माग गरेका छन्। प्रहरीले भने घटनाको कारण खुल्न नसकेको जनाएको छ। इलाका प्रहरी कार्यालय बरहथवाका प्रमुख डिएसपी गोपीकृष्ण सुवेदीका अनुसार घटनास्थलको प्रारम्भिक अवस्था हेर्दा घटना शङ्कास्पद नदेखिए पनि मृत्युको वास्तविक कारण पोस्टमार्टमपछि मात्रै खुल्नेछ। पुरीको शव पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल मलङ्गवा पठाइएको छ भने घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
कमेन्ट गर्नुहोस्
view comments