विवाहको दुई महिना नपुग्दै महोत्तरीमा युवतीको मृत्यु, दाइजोकै कारण यातना दिएको आरोप

17 घन्टा पहिले प्रकाशित

जनकपुरधाम,भाद्र ८ गते । महोत्तरीको पिपरा गाउँपालिका–५ मा विवाह भएको दुई महिना नपुग्दै २२ वर्षीया शिवानी राउतको मृत्यु भएको छ। भारतको सुरसण्ड निवासी शिवानीको मृत्यु दाइजोकै कारण ससुराली पक्षले दिएको शारीरिक तथा मानसिक यातनाबाट भएको माइती पक्षले आरोप लगाएको छ। मृतककी आमा रुवी देवीका अनुसार विवाहपछि मोटरसाइकल, सुनलगायत थप दाइजो माग गर्दै छोरीलाई पटक–पटक यातना दिइएको थियो। भदौ ४ गते शिवानीले मामाका छोरा दिपुकुमार कापरलाई श्रीमान्, सासू र देवरहरूले मोटरसाइकल ल्याउन दबाब दिँदै कुटपिट तथा घाँटी थिच्ने गरेको बताएको परिवारको दाबी छ। विवाह २०८३ असार १६ गते सजन राउतसँग भएको थियो।

रुवी देवीका अनुसार भदौ ८ गते दिउँसो करिब २ बजे छोरीलाई भेटेर फर्किएको करिब चार घण्टापछि उनको मृत्यु भएको खबर आएको थियो। जनकपुरस्थित प्रादेशिक अस्पताल पुग्दा शिवानीको घाँटीमा निलडाम देखिएको भन्दै माइती पक्षले ससुरालीले घाँटी थिचेर हत्या गरेको आशंका गरेको छ। ससुराली पक्षले भने शिवानीले झुन्डिएर आत्महत्या गरेको बताएको परिवारको भनाइ छ। घटनाबारे थप अनुसन्धानका लागि शवको परीक्षण जनकपुरबाट धरान पठाइएको जनाइएको छ। मृतककी आमाले पति सजन राउत, देवरद्वय प्रेम राउत र निराजन राउत तथा सासू नूतन देवीविरुद्ध जिल्ला प्रहरी कार्यालय महोत्तरीमा जाहेरी दिएकी छन्। प्रहरीले पति र सासूसहित तीन जनालाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रवक्ता प्रहरी नायब उपरीक्षक पञ्चलाल गोलेले जानकारी दिनुभयो।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?