कलैयाबाट बेपत्ता दुई वर्षीया बिन्दी मण्डल सकुशल फेला

15 घन्टा पहिले प्रकाशित

जनकपुरधाम, भदौ ७ गते । बाराको कलैयाबाट शनिबार साँझ बेपत्ता भएकी दुई वर्षीया बिन्दी मण्डल आइतबार बिहान सकुशल फेला परेकी छन्। कलैया उपमहानगरपालिका–१ कट्टीपर्साका मुकेश मण्डलकी छोरी बिन्दी कलैया–२६ सिसवा महेशपुरमा सडक छेउको नालामा रोइरहेको अवस्थामा स्थानीय एक महिलाले फेला पारेकी हुन्। महिलाले बालिकालाई नालाबाट उद्धार गरी आफ्नै घरमा सुरक्षित राखेकी थिइन्। बालिका फेला परेको जानकारी पाएपछि प्रहरीले अभिभावकसँग समन्वय गरी उनलाई परिवारको जिम्मा लगाएको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ। बालिका हराएको सूचना पाएलगत्तै एसपी नरेन्द्र कुँवरको नेतृत्वमा नेपाल प्रहरी, नेपाली सेना, सशस्त्र प्रहरी तथा तालिमप्राप्त कुकुरसहितको टोली परिचालन गरी रातभर खोजी गरिएको थियो।

बालिका सकुशल भेटिएपछि परिवार र स्थानीयले राहत महसुस गरेका छन्। यसअघि सिमरामा तीन वर्षीया गरिमा चौधरीको हत्या भएको घटनाका कारण बालबालिकाको सुरक्षाप्रति स्थानीयमा त्रास बढिरहेका बेला बिन्दीसमेत हराएपछि थप चिन्ता उत्पन्न भएको थियो। यद्यपि, दुई वर्षीया बालिका घरबाट टाढा सिसवा महेशपुरसम्म कसरी पुगिन् र सडक किनारको नालामा कसरी पुगिन् भन्ने विषय अझै स्पष्ट भएको छैन। घटनाको अवस्थाबारे प्रहरीले थप अनुसन्धान गर्ने जनाएको छ। पछिल्ला घटनाले बालबालिकाको सुरक्षाका लागि अभिभावक, समुदाय र सुरक्षा निकाय सबै पक्ष थप सचेत र सतर्क रहनुपर्ने आवश्यकता देखाएको छ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?