जनकपुरधामका सात पोखरीबाट ६५ घरटहरा हटाइयो, अतिक्रमणमुक्त अभियान तीव्र

16 घन्टा पहिले प्रकाशित

जनकपुरधाम, भदौ ७ गते । मधेश प्रदेशको राजधानी जनकपुरधामका ऐतिहासिक तथा धार्मिक महत्व बोकेका पोखरी अतिक्रमणमुक्त गराउने अभियान शनिबारदेखि सुरु भएको छ। गुठी जग्गाको संरक्षण तथा अतिक्रमण हटाउने कार्यान्वयन समितिको पहल तथा जनकपुरधाम उपमहानगरपालिका र स्थानीय प्रशासनको सहयोगमा अभियान अघि बढाइएको हो। समितिका सदस्यसचिव जनक पोखरेलका अनुसार रेखाङ्कन सम्पन्न भएका गोरधई, मुर्लिसर, बिसहरा, अङ्गराजसर, रत्नसागर, दिर्घिकासर र दशरथ तलाउ गरी सात पोखरीको अतिक्रमित डिलमा डोजर चलाएर ६५ वटा कच्ची तथा आंशिक पक्की घरटहरा हटाइएको छ। पहिलो चरणमा पहिचान गरिएका ५० वटा पोखरीलाई अतिक्रमणमुक्त बनाउने योजना रहेको र बाँकी पोखरीको रेखाङ्कन कार्य आइतबारदेखि जारी राखिने उहाँले बताउनुभयो।

पोखरी अतिक्रमण हटाउन गत साउन १ गते सार्वजनिक सूचना जारी गरिए पनि निर्धारित समयभित्र अतिक्रमण नहटाइएपछि डोजर प्रयोग गर्नुपरेको समितिले जनाएको छ। वडा नं. ६ स्थित गोरधई पोखरीबाट अभियान सुरु गर्दा सुरक्षाका लागि प्रहरी परिचालन गरिएको थियो। अतिक्रमण हटाउने क्रममा केहीबेर प्रहरी र स्थानीयबीच तनाव उत्पन्न भए पनि अवस्था पछि सामान्य भएको थियो। समितिले अतिक्रमण हटाउने कार्य चरणबद्ध रूपमा अघि बढाउने भएको छ। पहिलो चरणमा पोखरी, दोस्रो चरणमा मन्दिर परिसर र त्यसपछि अन्य गुठी जग्गामा रहेको अतिक्रमण हटाउने योजना रहेको सदस्यसचिव पोखरेलले जानकारी दिनुभयो। गुठी जग्गा पहिचान तथा अतिक्रमण हटाउने क्रममा २०६२ सालमा भोजराज घिमिरेको नेतृत्वमा गठित कार्यदलले तयार पारेको प्रतिवेदनलाई आधार बनाएर अभियान सञ्चालन गरिएको हो।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?