नापनक्सा भएको एक दशकपछि मिथिला बिहारीका ३१० परिवारले पाए जग्गाधनी पुर्जा

11 घन्टा पहिले प्रकाशित

जनकपुरधाम, भाद्र ५ गते ।  नापनक्सा सम्पन्न भएको करिब एक दशकपछि धनुषाको मिथिला बिहारी नगरपालिका–३ का ३१० परिवारले गाउँ ब्लक (स्ववासी) जग्गाको जग्गाधनी पुर्जा प्राप्त गरेका छन्। साबिक मिथलेश्वर महुवाही गाउँ विकास समितिअन्तर्गत वडा नं. १ देखि ९ सम्म पर्ने गाउँ ब्लक जग्गाको नापनक्सा आर्थिक वर्ष २०७२/७३ मा सम्पन्न भए पनि अभिलेख अद्यावधिक, दर्ता तथा आवश्यक कानुनी प्रक्रिया पूरा हुन नसक्दा स्थानीयवासी लामो समयदेखि पुर्जाबाट वञ्चित थिए। नापी कार्यालयले अभिलेख अद्यावधिक गरी दर्ता प्रक्रिया अघि बढाएपछि बुधबार ३१० थान पुर्जा वितरण गरेको हो। वर्षौंदेखि भोगचलन गर्दै आएको जग्गाको स्वामित्वको प्रमाण पाएपछि स्थानीयवासीले खुसी व्यक्त गर्दै अब सम्पत्ति स्वामित्व प्रमाणित गर्न तथा जग्गासम्बन्धी प्रशासनिक र आर्थिक कारोबार गर्न सहज हुने बताएका छन्।

नापी कार्यालयका प्रमुख उमेशकुमारले नापनक्सा सम्पन्न हुँदैमा जग्गाको स्वामित्व पूर्ण रूपमा स्थापित नहुने भएकाले त्यसपछि आवश्यक कानुनी तथा प्रशासनिक प्रक्रिया पूरा गर्नुपर्ने बताउनुभयो। नापनक्सा सम्पन्न भएर पनि विभिन्न कारणले दर्ता हुन नसकेका गाउँ ब्लक तथा स्ववासी प्रकृतिका जग्गाको समस्या समाधानलाई कार्यालयले प्राथमिकतामा राखेको उहाँले जानकारी दिनुभयो। स्थानीयको सहभागिता, आवश्यक कागजात र अन्य प्रक्रिया पूरा हुँदै गएमा लामो समयदेखि बाँकी रहेका यस्ता जग्गाको समस्या क्रमशः समाधान गरी जग्गाधनी पुर्जा वितरण गरिने उहाँको भनाइ छ। पुर्जा प्राप्त भएपछि स्थानीयको सम्पत्तिमाथिको कानुनी अधिकार सुनिश्चित हुनुका साथै जग्गा कारोबार तथा अन्य प्रशासनिक काममा समेत सहज हुने अपेक्षा गरिएको छ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?