नेपाल–भारत सम्बन्ध थप मजबुत बनाउन सीमावर्ती मधेशका समस्या प्राथमिकतामा राख्नुपर्ने : मुख्यमन्त्री यादव
11 घन्टा पहिले प्रकाशित
जनकपुरधाम, भाद्र ५ गते । मधेश प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले नेपाललाई भारतले विगतदेखि गर्दै आएको सहयोग प्रशंसनीय रहेको बताउनुभएको छ। मधेश प्रदेशमा भारतको सहयोगमा विभिन्न विकास आयोजना सञ्चालन तथा सम्पन्न भएको उल्लेख गर्दै उहाँले यस्ता परियोजनाले दुई देशबीचको सम्बन्धलाई थप मजबुत बनाएको बताउनुभयो।
भारतको ८०औँ स्वतन्त्रता दिवसका अवसरमा सामाजिक विकास तथा अनुसन्धान केन्द्रद्वारा बिहीबार जनकपुरधाममा आयोजित ‘नेपालको वर्तमान अवस्थामा नेपाल–भारत सम्बन्ध’ विषयक गोष्ठीमा मुख्यमन्त्री यादवले यस्तो बताउनुभएको हो। उहाँले नेपाल–भारत सम्बन्धबारे काठमाडौँ र दिल्लीमा हुने छलफलमा सीमावर्ती मधेशका समस्या पनि प्राथमिकतामा राखिनुपर्ने बताउनुभयो।
भारतसँग प्रत्यक्ष सीमा जोडिएका मधेशका सबै जिल्लाका नागरिकका समस्या समाधानका लागि दुवै देशले आवश्यक पहल गर्नुपर्ने उहाँको भनाइ थियो। सीमाक्षेत्रका नागरिकले भोग्दै आएका समस्या समाधानमा नेपाल र भारत दुवै संवेदनशील हुनुपर्ने उहाँले जोड दिनुभयो।
वीरगन्जस्थित भारतीय महावाणिज्य दूतावासका महावाणिज्यदूत डा. देवीसहाय मिणाले भारतले छिमेकी राष्ट्रसँगको सम्बन्धलाई उच्च प्राथमिकता दिँदै आएको बताउनुभयो। प्राचीनकालदेखि कायम आर्थिक, सामाजिक तथा सांस्कृतिक सम्बन्ध दुई देशको साझा सम्पत्ति भएको उल्लेख गर्दै उहाँले नेपाल भारतको दीर्घकालीन विकास साझेदार र मित्रराष्ट्र रहेको बताउनुभयो।
नीति तथा योजना आयोग मधेशका पूर्वउपाध्यक्ष डा. भोगेन्द्र झाले नेपाल–भारत सम्बन्ध कुनै व्यक्ति, दल वा सरकारको पहलबाट निर्माण भएको नभई प्राकृतिक र नैसर्गिक सम्बन्ध भएको बताउनुभयो। दुई देशबीचको सम्बन्धलाई संरक्षण गर्दै अझ बलियो बनाउनुपर्नेमा जोड दिँदै उहाँले भारतमा भइरहेको आर्थिक तथा सामाजिक रूपान्तरणबाट नेपालले समेत लाभ लिन सक्नुपर्ने धारणा राख्नुभयो।
धनुषा र भारतको मधुवनी क्षेत्रका सीमावर्ती नागरिकका समस्या काठमाडौँ र दिल्ली दुवैबाट पर्याप्त रूपमा सम्बोधन हुन नसकेको उल्लेख गर्दै झाले सीमाक्षेत्रका नागरिकका समस्या समाधानका लागि दुवै देशले थप ध्यान दिनुपर्ने बताउनुभयो।
कमेन्ट गर्नुहोस्
view comments