बागमतीको मुख्यमन्त्रीमा एमालेका किरण थापा नियुक्त हुँदै, राप्रपाको समर्थन विवादित
3 घन्टा पहिले
प्रकाशित
काठमाडौं, भाद्र ४ गते । नेकपा एमालेका किरण थापा बागमती प्रदेशको नयाँ मुख्यमन्त्री बन्ने भएका छन्। प्रदेश प्रमुख दीपकप्रसाद देवकोटाले बिहीबार अपराह्न ४ बजे संविधानको धारा १६८ को उपधारा (२) बमोजिम थापालाई मुख्यमन्त्री नियुक्त गर्ने तयारी गरेका छन्। नियुक्तिपछि ४ः२० बजे शपथ समारोह आयोजना गरिएको प्रदेश प्रमुखको कार्यालयले जनाएको छ।
१०४ सदस्यीय बागमती प्रदेशसभामा सरकार गठनका लागि ५३ सांसदको समर्थन आवश्यक पर्छ। एमालेका २५ र नेकपाका २६ गरी ५१ सांसद रहेकाले थप दुई सांसदको समर्थन आवश्यक थियो। यही अवस्थामा राप्रपाका प्रदेश संसदीय दलका नेता उद्धव थापाले एमालेका थापालाई समर्थन गर्दै प्रदेश प्रमुखसमक्ष पत्र बुझाएका थिए।
तर राप्रपाको केन्द्रीय नेतृत्वले भने प्रदेश सरकारको सत्ता राजनीतिमा सहभागी नहुने निर्णय गरेको जनाउँदै प्रदेश संसदीय दलका नेताले बुझाएको समर्थनपत्रलाई मान्यता नदिन प्रदेश प्रमुखलाई आग्रह गरेको छ। पार्टीको निर्णयविपरीत सरकार गठन प्रक्रियामा सहभागी भएको भन्दै राप्रपाले उद्धव थापालगायत नेतामाथि कारबाहीको तयारीसमेत गरेको छ।
यसैबीच एमाले–नेकपा गठबन्धनलाई समर्थन गरेपछि राप्रपाबाट राजु विष्टलाई खानेपानी तथा ऊर्जा, गिरबहादुर तामाङलाई सामाजिक विकास र राजेन्द्र प्रजापतिलाई पर्यटन मन्त्रालयको जिम्मेवारी दिइएको छ। राप्रपाको समर्थनसम्बन्धी विवादकै बीच मुख्यमन्त्री नियुक्ति प्रक्रिया अघि बढेपछि बागमती प्रदेशको सत्ता समीकरण थप पेचिलो बनेको छ।
कमेन्ट गर्नुहोस्
view comments