बारामा तीन दिनदेखि बेपत्ता तीन वर्षीया बालिका मृत फेला, जबर्जस्ती करणीपछि हत्या भएको आशंका
5 घन्टा पहिले प्रकाशित
जनकपुरधाम, भाद्र ३ गते । जीतपुरसिमरा उपमहानगरपालिका–१ दसधुराबाट तीन दिनदेखि बेपत्ता भएकी तीन वर्षीया गरिमा चौधरी मङ्गलबार साँझ मृत अवस्थामा फेला परेकी छन्। भक्तिटोलस्थित करिब पाँच महिनादेखि खाली रहेको वीरबहादुर रोक्काको घरभित्र बालिकाको शव फेला परेको हो।
स्थानीय मनोज चौधरी र मनमती चौधरीकी छोरी गरिमा आइतबार बिहान करिब ८ः३० बजे बस्तीबाटै बेपत्ता भएकी थिइन्। परिवार र स्थानीयवासीले खोजी गर्ने क्रममा घरबाट करिब १५० मिटर दक्षिणमा रहेको खाली घरबाट दुर्गन्ध आएपछि झ्यालबाट हेर्दा शव देखिएको थियो। त्यसपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए।
प्रहरीका अनुसार घटनास्थलमा बालिकाले लगाएका कपडासमेत भेटिएका छन् भने प्रारम्भिक अनुसन्धानमा शरीर सुन्निएको र यौनाङ्गमा चोट देखिएको छ। घटनाको प्रकृति हेर्दा जबर्जस्ती करणीपछि हत्या भएको हुन सक्ने आशंका गरिएको इलाका प्रहरी कार्यालय सिमराका प्रहरी नायब उपरीक्षक दिलीप क्षेत्रीले बताउनुभयो। यद्यपि, यौनजन्य हिंसा भए–नभएको तथा मृत्युको वास्तविक कारण शल्यपरीक्षण प्रतिवेदनपछि मात्र यकिन हुने प्रहरीले जनाएको छ।
घटनाको अनुसन्धानका लागि प्रहरीले तालिमप्राप्त कुकुरसमेत परिचालन गरेको छ। प्रहरी निरीक्षक प्रकाश थापालाई अनुसन्धान अधिकृत तोकिएको छ भने बाराका प्रहरी उपरीक्षक नरेन्द्र कुँवरसहितको टोलीले घटनास्थलमा पुगेर अनुसन्धानको निगरानी गरिरहेको छ। बालिकाको शव शल्यपरीक्षणका लागि प्रादेशिक अस्पताल कलैया पठाइएको छ। घटनामा संलग्न व्यक्तिको पहिचान र पक्राउका लागि प्रहरीले अनुसन्धान तीव्र बनाएको जनाएको छ।
कमेन्ट गर्नुहोस्
view comments