जनकपुरधाममा बुधबार सन्त श्री तुलसी जयन्ती महोत्सव, भव्य शोभायात्रासहित विविध कार्यक्रम हुँदै

4 घन्टा पहिले प्रकाशित

जनकपुरधाम, भाद्र २ गते ।  श्री रामानन्दीय वैष्णव संघको आयोजनामा बुधबार सन्त श्री तुलसी जयन्ती महोत्सव भव्य रूपमा मनाइने भएको छ। संघका अध्यक्ष रामरोशन दास वैष्णवका अनुसार विगत केही वर्षदेखि विशेष रूपमा आयोजना हुँदै आएको महोत्सवमा साधुसन्त, भक्तजन तथा नगरवासीको सहभागिता रहनेछ।

महोत्सवअन्तर्गत बिहान ८ बजे सन्त तुलसीदासको अभिषेक गरिनेछ। त्यसपछि तुलसीदासद्वारा रचित रामचरितमानसको नवाह पाठ सञ्चालन हुनेछ। नवाह पाठको समापन दिउँसो १ बजे गरिने संघले जनाएको छ।

दिउँसो १ बजेदेखि ३ बजेसम्म बधाई गान तथा सन्त–महन्त र अतिथिहरूबाट तुलसीदासको योगदानबारे प्रवचन तथा चर्चा गरिनेछ। त्यसपछि दिउँसो करिब ३ः३० बजे सन्त तुलसीदासको प्रतिमासहित जनकपुरधाम नगरमा भव्य शोभायात्रा निकालिने अध्यक्ष दासले जानकारी दिए।

शोभायात्रापछि भक्तजनका लागि भव्य भण्डाराको समेत आयोजना गरिएको छ। अध्यक्ष दासले जनकपुरधामवासी, देश–विदेशमा रहेका सनातन धर्मावलम्बी तथा विभिन्न धार्मिक संघसंस्थालाई महोत्सवमा सहभागी भई कार्यक्रमको शोभा बढाउन र प्रसाद ग्रहण गर्न आग्रह गरेका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?