मधेसमा ‘शिक्षा संवाद’ सम्पन्न, शिक्षा ऐनका लागि २११ सरोकारवालाबाट सुझाव
5 घन्टा पहिले प्रकाशित
जनकपुरधाम, भाद्र १ गते । शिक्षा तथा खेलकुद मन्त्रालयले प्रस्तावित शिक्षा ऐन निर्माणअघि सातै प्रदेशमा सञ्चालन गरिरहेको ‘शिक्षा संवाद’ अभियानअन्तर्गत मधेस प्रदेशमा कार्यक्रम सम्पन्न गरेको छ। जनकपुरधामस्थित याज्ञवल्क्य संस्कृत माध्यमिक विद्यालय, ज्ञानकुपमा प्रधानाध्यापक एसोसिएसन नेपालको सहजीकरणमा आयोजित कार्यक्रममा मधेसका आठवटै जिल्लाबाट शिक्षा क्षेत्रका २११ जना सरोकारवालाको सहभागिता रहेको थियो।
कार्यक्रममा शिक्षक, प्रधानाध्यापक, अभिभावक तथा शिक्षा क्षेत्रका अगुवाले विद्यालय शिक्षाका व्यावहारिक समस्या, शिक्षक तथा विद्यालयका आवश्यकता र सुधारका उपायबारे सुझाव दिएका थिए। शिक्षा तथा खेलकुदमन्त्रीका सल्लाहकार शैलेन्द्र झाले नयाँ शिक्षा ऐनमा विद्यालय तहका समस्या, शिक्षक तथा विद्यालयका आवश्यकता र स्थानीय समुदायको भूमिकालाई प्राथमिकता दिइने बताए। उनले भौगोलिक अवस्था र सामाजिक परम्परालाई समेत ध्यानमा राखेर समयसापेक्ष शिक्षा ऐन निर्माण गरिने प्रतिबद्धता जनाए। मन्त्रालयले संवादबाट प्राप्त सुझावलाई आगामी शिक्षा ऐन तथा शिक्षा सुधारसम्बन्धी नीतिमा समेट्ने जनाएको छ।
कमेन्ट गर्नुहोस्
view comments