दुई छोरी जन्माएको निहुँमा बुहारीको हत्या आरोप, पाँच वर्षपछि ससुरा पक्राउ
7 घन्टा पहिले प्रकाशित
जनकपुरधाम, भाद्र १ गते । दुई छोरी जन्माएको भन्दै बुहारीलाई यातना दिँदै जबर्जस्ती विष सेवन गराएर हत्या गरेको आरोपमा सप्तरीमा पाँच वर्षपछि ससुरा पक्राउ परेका छन्। बोदेबरसाइन नगरपालिका–८ काचन टोलका ५५ वर्षीय बद्री दासलाई आफ्नै घरमा लुकीछिपी बसेको अवस्थामा प्रहरीले पक्राउ गरेको हो।
प्रहरीका अनुसार २५ वर्षीया शिवकुमारी दासले दोस्रो छोरी जन्माएपछि परिवारबाट पटक–पटक यातना र कुटपिट सहनुपरेको थियो। २०७७ कात्तिक १७ गते उनलाई जबर्जस्ती विष सेवन गराई हत्या गरिएको प्रहरी अनुसन्धानबाट खुलेको दाबी छ। घटनामा शिवकुमारीका श्रीमान् लालोप्रसाद दास, देवर सञ्जीव र धनेश्वर, नन्द भुटनीदेवी तथा सासु सीतादेवीसमेत संलग्न रहेको आरोप छ। उनीहरू सबै फरार रहेको र अदालतबाट पक्राउ पुर्जी जारी भइसकेको प्रहरीले जनाएको छ। बद्रीलाई कर्तव्य ज्यानसम्बन्धी कसुरमा पक्राउ गरी जिल्ला अदालत सप्तरीबाट पाँच दिनको म्याद लिएर थप अनुसन्धान भइरहेको छ। परिवारले घटनामा संलग्न सबैलाई पक्राउ गरी न्याय दिन माग गरेको छ।
कमेन्ट गर्नुहोस्
view comments