४३ वर्षपछि पुजारीको भेषमा ठकाई यादव पक्राउ परे कर्तव्य ज्यान मुद्दाका फरार अभियुक्त

11 घन्टा पहिले प्रकाशित

जनकपुरधाम, श्रावण २९ गते ।  सिराहामा कर्तव्य ज्यान मुद्दामा सजाय पाएर ४३ वर्षदेखि फरार रहेका एक व्यक्ति पुजारीको भेषमा लुकिछिपी बसिरहेको अवस्थामा पक्राउ परेका छन्। पक्राउ पर्नेमा लक्ष्मीपुर पतारी गाउँपालिका–५ खरुक्याहीका ८० वर्षीय ठकाई यादव रहेका छन्।

जिल्ला प्रहरी कार्यालय सिराहाका अनुसार यादवसहित ११ जना प्रतिवादीले २०४१ वैशाख १ गते खरुक्याहीमा लागेको वैशाखे मेलाका क्रममा मन्दिरमा बोका चढाउने विषयमा विवाद हुँदा रजिन्द्र यादवलाई घेरा हाली कुटपिट गरेर हत्या गरेका थिए। उक्त घटनामा संलग्न रहेको ठहर भएपछि यादवलाई अदालतले एक वर्ष कैद सजाय सुनाएको थियो। सजायपछि फरार रहेका यादव बिहीबार आफ्नै गाउँस्थित शिवमन्दिरमा पुजारीको भेषमा लुकिछिपी बसिरहेको अवस्थामा प्रहरीले पक्राउ गरेको हो।

पक्राउ परेका यादवलाई आवश्यक कारबाहीका लागि जिल्ला अदालत सिराहामा बुझाइएको प्रहरीले जनाएको छ। प्रहरीका अनुसार उक्त घटनामा संलग्न अन्य फरार प्रतिवादीमध्ये अधिकांशको मृत्यु भइसकेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?