साइबर अपराध बढ्दो : एक वर्षमा २० हजारभन्दा बढी उजुरी, १५५ जना पक्राउ
11 घन्टा पहिले प्रकाशित
जनकपुरधाम, श्रावण २९ गते । सामाजिक सञ्जालको बढ्दो प्रयोगसँगै त्यसको दुरुपयोगबाट हुने साइबर अपराधका घटना पनि बढ्दै गएका छन्। इमेलमार्फत अश्लील सन्देश पठाएर महिलाको चरित्र हत्या गर्ने, सामाजिक सञ्जालको खाता ह्याक गरी ठगी गर्ने तथा डिजिटल वालेटको कर्मचारी बनेर रकम असुल्ने जस्ता घटनामा संलग्नलाई प्रहरीले पक्राउ गर्दै आएको छ। नेपाल प्रहरीको साइबर ब्यूरोका अनुसार आर्थिक वर्ष २०८२/८३ मा साइबर अपराधसम्बन्धी २० हजार ५२६ वटा निवेदन दर्ता भएका छन्। सो अवधिमा साइबर अपराधसम्बन्धी १६१ मुद्दा दर्ता हुँदा १५५ जना पक्राउ परेका छन्। अघिल्लो आर्थिक वर्ष २०८१/८२ मा १८ हजार ९२६ र आव २०८०/८१ मा १९ हजार ७३० वटा निवेदन दर्ता भएका थिए।
दर्ता भएका उजुरीमध्ये फेसबुक तथा म्यासेन्जरको दुरुपयोगसम्बन्धी सात हजार १२३, टिकटकका छ हजार ७७६, ह्वाट्सएपका तीन हजार १०५, टेलिग्रामका एक हजार ३१ र इन्स्टाग्रामका ६२८ वटा छन्। त्यस्तै इसेवा, खल्ती, बैंक खाता तथा एसएमएससँग सम्बन्धित ७४४ उजुरी दर्ता भएका छन्। साइबर ब्यूरोका प्रवक्ता प्रहरी उपरीक्षक दिलीपकुमार गिरीका अनुसार बैंक तथा डिजिटल वालेटका कर्मचारी बनेर ठगी गर्ने, गिफ्ट, चिठ्ठा तथा पार्सलको प्रलोभन देखाउने, प्रेम सम्बन्धमा पारेर रकम असुल्ने, वैदेशिक रोजगारी तथा अनलाइन रोजगारीको प्रलोभन दिने र अनलाइन किनमेलका नाममा ठगी गर्ने प्रवृत्ति बढेको छ। प्रविधिको दुरुपयोगबाट अपराधका नयाँ शैली देखिन थालेपछि अनुसन्धान थप चुनौतीपूर्ण बनेको भन्दै प्रहरीले साइबर सुरक्षासम्बन्धी सचेतना बढाउँदै यस्ता अपराधमा संलग्नलाई विद्युतीय कारोबार ऐन, २०६३ अनुसार कानुनी कारबाही गर्दै आएको जनाएको छ।
कमेन्ट गर्नुहोस्
view comments