देउवाको पाँच महिनापछि स्वदेश फर्किएपछि अपिल : ‘कांग्रेस एकताबद्ध भएर अघि बढ्नुपर्छ’
8 घन्टा पहिले प्रकाशित
काठमाडौं, श्रावण २८ गते । पाँच महिनाको स्वास्थ्य उपचारपछि स्वदेश फर्किएका नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीभित्र देखिएको असहमति र निराशा तत्काल समाधान गर्दै कांग्रेसलाई एकताबद्ध बनाउनुपर्ने बताएका छन्। उनले युवा पुस्ताले उठाएको परिवर्तनको मागलाई कांग्रेसले आत्मसात् गर्नुपर्ने उल्लेख गर्दै परिवर्तनको नाममा विगतका राजनीतिक संघर्ष र योगदानलाई अवमूल्यन गर्न नहुने धारणा राखेका छन्।
देउवाले कांग्रेसको ऐतिहासिक योगदानलाई स्मरण गर्दै वर्तमान संविधानको संरक्षण, राष्ट्रिय सहमति, लोकतन्त्रको सुदृढीकरण र राजनीतिक दलबीच सहकार्य आवश्यक रहेको बताएका छन्। उनले पार्टीभित्र युवा पुस्तालाई अघि बढाउनुपर्ने तर अनुभवी पुस्तालाई सम्पूर्ण रूपमा अस्वीकार गर्ने भाष्य उचित नभएको भन्दै नयाँ पुस्ताले पुरानो पुस्ताको अनुभवबाट समेत सिक्नुपर्ने धारणा राखेका छन्। साथै, आफूले विगतमा माओवादी द्वन्द्वलगायत विभिन्न जटिल राजनीतिक परिस्थितिमा सहमति र मिलापका लागि खेलेको भूमिकाको अनुभव नयाँ पुस्तालाई हस्तान्तरण गर्ने बताएका छन्।
देउवाले आफू शक्ति प्राप्तिका लागि नभई राष्ट्रिय एकता सुदृढ गर्ने उद्देश्यले फर्किएको उल्लेख गरेका छन्। उनले राजनीतिक विभाजन र द्वेष अन्त्य गर्दै प्रतिशोधको सट्टा मेलमिलापको बाटो रोज्नुपर्नेमा जोड दिएका छन्। आफूले राष्ट्र, लोकतन्त्र, नागरिक, संविधान र कानुनलाई सर्वोच्च प्राथमिकतामा राखेर काम गरेको दाबी गर्दै आगामी दिनमा पनि जनताको हित, संविधान, कानुन र नैतिक मूल्य–मान्यताप्रति प्रतिबद्ध भएर अघि बढ्ने बताएका छन्।

_1786617727_1.jpeg)

कमेन्ट गर्नुहोस्
view comments