नेकपा (बहुमत) का नेता तिलक पुन मगर पक्राउ, तत्काल रिहाइको माग गर्दै आन्दोलनको चेतावनी
23 घन्टा पहिले प्रकाशित
काठमाडौं, श्रावण २२ गते । नेपाल कम्युनिष्ट पार्टी (बहुमत) का केन्द्रीय सचिवालय सदस्य तथा ब्युरो नम्बर–५ का इन्चार्ज तिलक पुन मगर पक्राउ परेका छन्। पार्टीका अनुसार उनी बिहीबार राति दाङस्थित आफ्नै घरबाट नेपाल प्रहरीले पक्राउ गरेको हो। पार्टीका प्रवक्ता उदय चलाउनेले शुक्रबार जारी गरेको विज्ञप्तिमा पक्राउ पुर्जीबिनै घरमै बसिरहेको अवस्थामा पुनलाई नियन्त्रणमा लिइएको दाबी गर्दै घटनाप्रति घोर आपत्ति र भर्त्सना व्यक्त गरिएको छ।
विज्ञप्तिमा पार्टीले वैज्ञानिक समाजवाद स्थापना गर्ने उद्देश्यका साथ संगठन विस्तार र विभिन्न राजनीतिक गतिविधि सञ्चालन भइरहेका बेला जिम्मेवार नेताको पक्राउ नागरिकको मौलिक हक तथा संविधानको भावना विपरीत भएको दाबी गरेको छ। पार्टीले तिलक पुन मगरलाई तत्काल ससम्मान रिहा गर्न सरकारसँग माग गर्दै माग सम्बोधन नभए सशक्त आन्दोलनमा उत्रिने चेतावनी दिएको छ। हालसम्म नेपाल प्रहरीले पक्राउको कारणबारे औपचारिक जानकारी सार्वजनिक गरेको छैन।
कमेन्ट गर्नुहोस्
view comments