करदाता प्रोत्साहन उपहार योजनाको पहिलो बम्पर नतिजा सार्वजनिक, २५० रुपैयाँको बिलले जित्यो १० लाख
24 घन्टा पहिले प्रकाशित
काठमाडौं, श्रावण २२ गते । करदाता प्रोत्साहन उपहार योजनाअन्तर्गत साउन महिनाको पहिलो १५ दिनको बम्पर उपहारको नतिजा सार्वजनिक गरिएको छ। अर्थ मन्त्रालयमा शुक्रबार आयोजित कार्यक्रममा आन्तरिक राजस्व विभागले २०८३ साउन १ देखि १५ गतेसम्मको अवधिका १६ जना विजेताको घोषणा गरेको हो। विभागका अनुसार १५ जना दैनिक विजेताले जनही १ लाख १२ हजार ३७४ रुपैयाँ पुरस्कार प्राप्त गरेका छन् भने एक जना बम्पर विजेताले १० लाख रुपैयाँ जितेका छन्। शिव कृष्ण जनरल स्टोरबाट २५० रुपैयाँको सामान खरिद गरी बिल लिएका उपभोक्ताको कुपन नम्बर ००७–३१५–२५४–४९३ बम्पर उपहारका लागि छनोट भएको विभागले जनाएको छ।
विभागका अनुसार समीक्षा अवधिमा ७ हजार ७७ वटा नगद कारोबार विवरण विभागको वेबसाइटमा प्रविष्ट भएका छन्, जसको कुल मूल्य ८ करोड २४ लाख रुपैयाँ रहेको छ। ती कारोबारमा ३ हजार ९ सय १५ विक्रेता आबद्ध छन्। यस्तै, सोही अवधिमा अनलाइन भुक्तानीमार्फत ७६ अर्ब ६० करोड ३ लाख रुपैयाँ बराबरको कारोबार भएको विभागले जनाएको छ। विजेताको कुपन नम्बर र संक्षिप्त विवरण विभागको वेबसाइटमा सार्वजनिक गरिने भए पनि व्यक्तिगत गोपनीयताका कारण पूरा नाम र मोबाइल नम्बर सार्वजनिक गरिने छैन। पुरस्कार विजेताले १५ दिनभित्र नजिकको आन्तरिक राजस्व कार्यालयमा पुगेर पुरस्कार दाबी गर्न सक्ने व्यवस्था गरिएको छ।
सरकारले उपभोक्तामा बिल लिने बानीको विकास गर्दै कर प्रणालीलाई थप पारदर्शी र प्रभावकारी बनाउने उद्देश्यले चालु आर्थिक वर्षदेखि यो योजना लागू गरेको हो। योजनाअनुसार प्रत्येक १५ दिनमा १५ जनालाई एक–एक लाख रुपैयाँ र एक जनालाई १० लाख रुपैयाँको बम्पर उपहार प्रदान गरिन्छ। १०० रुपैयाँभन्दा बढीको नगद खरिदमा प्राप्त सक्कली बिल विभागको पोर्टलमार्फत अपलोड गर्न सकिनेछ भने क्यूआर वा डिजिटल भुक्तानीबाट भएका कारोबार स्वतः प्रणालीमा समावेश हुनेछन्। अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आर्थिक वर्ष २०८३/८४ को बजेटमार्फत घोषणा गरेको यो योजना औपचारिक कर प्रणालीमा करदाताको सहभागिता बढाउने उद्देश्यले कार्यान्वयनमा ल्याइएको हो।
कमेन्ट गर्नुहोस्
view comments