श्रीमतीलाई पासो लगाएर मार्ने प्रयास गरेको आरोपमा युवक पक्राउ
14 घन्टा पहिले प्रकाशित
जनकपुरधाम, श्रावण १२ गते । बागमती नगरपालिका–५ टेकानीस्थित ससुरालीमा श्रीमतीलाई कुटपिट गरी साडीको पासो लगाएर ज्यान मार्ने प्रयास गरेको आरोपमा प्रहरीले एक युवकलाई पक्राउ गरेको छ। धनकौल गाउँपालिका–१ शेखौना निवासी २१ वर्षीय बसन्ता बैठा धोबीले सोमबार राति करिब ८ बजे आफ्नी १८ वर्षीया श्रीमती चिन्ता देवीलाई कुटपिट गरी घाँटीमा साडीको पासो लगाएर झुन्ड्याउने प्रयास गरेको प्रहरीले जनाएको छ।
घटनाका क्रममा १० वर्षीया कुसुम कुमारीले घटना देखेपछि तत्काल आफन्तलाई खबर गरेकी थिइन्। आफन्तले समयमै पासो खोलेर चिन्ता देवीको उद्धार गरेका थिए। प्रहरी चौकी राजघाटबाट खटिएको टोलीले घाइतेलाई बागमती मोडेल अस्पताल, कर्मैया पुर्याएको थियो। सामान्य उपचारपछि वीरगञ्ज रिफर गरिएकी उनलाई थप उपचारका लागि रौतहटको गरुडास्थित बेटर नेपाल अस्पताल लगिएको छ। उनको अवस्था गम्भीर रहेको बताइएको छ। प्रहरीले घटनामा संलग्न बसन्ता बैठा धोबीलाई पक्राउ गरी थप अनुसन्धान अघि बढाएको जनाएको छ।
कमेन्ट गर्नुहोस्
view comments