सरकारी सहयोग नपाएपछि कांग्रेस नेतृत्व पीडित परिवारको साथमा, गगन थापाबाट रु. १ लाख सहयोग र शिक्षाको जिम्मेवारी, बीरेन्द्र सिंहद्वारा रोजगारीको प्रतिबद्धता
12 घन्टा पहिले प्रकाशित
जनकपुरधाम, श्रावण ८ गते । सर्लाहीको गोडैता नगरपालिका–१०, सिसौटियाका ३५ वर्षीय स्वर्गीय विवेक मण्डलको निधनपछि उहाँको परिवार गहिरो शोकसँगै आर्थिक संकटमा परेको छ। परिवारका अनुसार हालसम्म सरकारका तर्फबाट कुनै राहत वा सहयोग प्राप्त भएको छैन।
विवेक मण्डल उपचाररत रहँदाकै अवस्थामा नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापा, मधेश प्रदेशका पूर्वमन्त्री बीरेन्द्र प्रसाद सिंह तथा नेपाली कांग्रेस सर्लाहीका पूर्वसभापति सुरेन्द्र प्रसाद सिंह अस्पताल पुगेर उहाँको स्वास्थ्य अवस्थाबारे जानकारी लिनुभएको थियो। त्यस अवसरमा उहाँहरूले उपचारमा कुनै कमी हुन नदिन आग्रह गर्दै पीडित परिवारलाई "हामी तपाईंहरूको साथमा छौँ" भन्ने विश्वास दिलाउनुभएको थियो।
विवेक मण्डलको निधनपछि गरिएको प्रतिबद्धतालाई व्यवहारमा उतार्दै १३औँ पुण्यतिथिको अवसरमा महामन्त्री गगनकुमार थापाको तर्फबाट परिवारलाई रु. १ लाख आर्थिक सहयोग प्रदान गरिएको छ। साथै उहाँका सन्तानहरूको शिक्षा–दीक्षाको सम्पूर्ण जिम्मेवारी लिने घोषणा पनि गरिएको छ।
महामन्त्री थापाको सन्देश र सहयोग रकम लिएर पूर्वमन्त्री बीरेन्द्र प्रसाद सिंह स्वर्गीय मण्डलको निवासमै पुग्नुभएको थियो। श्रद्धाञ्जली अर्पणपछि परिवारसँग भेटघाटका क्रममा मृतकका बुबाले सरकारबाट कुनै सहयोग नपाएको र नाति–नातिना तथा बुहारीको भविष्यप्रति आफू अत्यन्त चिन्तित रहेको व्यथा सुनाउनुभयो।
उक्त पीडा सुनेपछि पूर्वमन्त्री सिंहले स्वर्गीय मण्डलकी श्रीमतीलाई दुई महिनाभित्र रोजगारीको व्यवस्था मिलाउन पहल गर्ने प्रतिबद्धता जनाउँदै भन्नुभयो, "मेरो घर यहीँ नजिकै छ। कुनै पनि समस्या परे निर्धक्क भएर आउनुहोस्। तपाईंहरूको परिवारको हरेक दुःख–सुखमा हामी सधैं साथमा रहनेछौं।" उहाँको यस आश्वासनले निराश परिवारमा नयाँ आशा जगाएको उपस्थितहरूले बताएका छन्।
उक्त कार्यक्रममा पूर्व प्रदेशसभा सदस्य उपेन्द्र कुशवाहा, युवा नेता गजेन्द्र साह, विभिन्न वडाका वडाध्यक्ष, समाजसेवी, बुद्धिजीवी तथा स्थानीयवासीहरूको उल्लेखनीय सहभागिता रहेको थियो।
स्वर्गीय विवेक मण्डलको परिवारप्रति राज्यको जिम्मेवारीबारे अहिले पनि स्थानीय तहमा व्यापक चासो र प्रश्न उठिरहेका छन्। पीडित परिवारले तत्काल राहत, दीर्घकालीन संरक्षण तथा न्यायोचित सहयोग पाउने अपेक्षा स्थानीयवासीले व्यक्त गरेका छन्।
कमेन्ट गर्नुहोस्
view comments