मधेस सरकारमा गठबन्धन कायमै, मन्त्रालय घटाएर मन्त्री हेरफेरको तयारी

1 दिन पहिले प्रकाशित

  • कांग्रेस, एमाले र नेपाली कम्युनिस्ट पार्टीले गठबन्धनलाई निरन्तरता दिने सहमति गरेका छन्।
  • मधेस सरकारका १२ मन्त्रालय घटाएर ९ बनाउने र मन्त्रिपरिषद् पुनर्गठन गर्ने तयारी अघि बढेको छ।

जनकपुरधाम, श्रावण ४ गते । मधेस प्रदेशमा नेपाली कांग्रेस, नेकपा एमाले र नेपाली कम्युनिस्ट पार्टीबीचको गठबन्धन कायमै रहने भएको छ। सरकार परिवर्तनको सम्भावना नरहेको भन्दै तीनै दलले मन्त्रालयको सङ्ख्या घटाउने र केही मन्त्री हेरफेर गर्ने तयारी थालेका छन्।

हाल मधेस प्रदेश सरकारमा रहेका १२ मन्त्रालयलाई घटाएर ९ वटा बनाउने गृहकार्य भइरहेको गठबन्धनका नेताहरूले बताएका छन्। वन तथा पर्यटन मन्त्रालयलाई एकीकृत गर्ने, वाणिज्यलाई गृह मन्त्रालयमा गाभ्ने र शिक्षा मन्त्रालयलाई सामाजिक विकास मन्त्रालयअन्तर्गत राख्ने तयारी भइरहेको छ।

नेपाली कांग्रेस मधेस प्रदेश संसदीय दलका प्रमुख सचेतक कुमरकान्त झाले स्थानीय तह र प्रदेशसभा निर्वाचन नजिकिँदै गएकाले सरकार परिवर्तनभन्दा पनि वर्तमान गठबन्धनलाई निरन्तरता दिने सहमति भएको बताए।

गठबन्धनको सहमतिअनुसार मन्त्रालय पुनर्संरचना भएपछि कांग्रेस र एमालेले तीन–तीन मन्त्रालय तथा नेपाली कम्युनिस्ट पार्टीले दुई मन्त्रालय पाउने सम्भावना रहेको छ। साथै एक वर्ष पूरा गरेका मन्त्रीलाई फिर्ता बोलाएर नयाँ अनुहारलाई सरकारमा पठाउने तयारीसमेत भइरहेको छ।

यसैबीच, प्रदेश सरकारले चालु आर्थिक वर्षका विकास योजनाहरू खुला प्रतिस्पर्धामार्फत ठेक्का प्रक्रियाबाट अघि बढाउने निर्णय गरेको छ। विगतमा उपभोक्ता समितिमार्फत हुने काममा अनियमितता र गुणस्तरसम्बन्धी गुनासो बढेपछि नयाँ व्यवस्था लागू गर्न लागिएको हो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?