वन अधिकृत १२ हजार रुपैयाँ घुससहित पक्राउ

11 घन्टा पहिले प्रकाशित

जनकपुरधाम, असार २४ गते । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले सिरहाको सव–डिभिजन वन कार्यालय बन्दीपुरका कार्यालय प्रमुख राम केवल राय यादवलाई १२ हजार रुपैयाँ घुससहित पक्राउ गरेको छ। अख्तियारका प्रवक्ता सुरेश न्यौपानेका अनुसार उद्योगका लागि ल्याइएको काठ सिलबन्दीअनुसार भए–नभएको रुजु गरी कागजातसहितको फाइल फिर्ता गर्ने क्रममा सेवाग्राहीसँग घुस मागेको भन्ने सूचना र उजुरीका आधारमा विशेष टोली परिचालन गरिएको थियो।

अख्तियारको टोलीले यादवलाई सिरहाको कर्जन्हा नगरपालिका–४ स्थित मिर्चैयाबाट बन्दीपुर जाने महेन्द्र राजमार्ग क्षेत्रमा घुस लिइसकेको अवस्थामा नियन्त्रणमा लिएको हो। उनको साथबाट घुसबापत लिएको १२ हजार रुपैयाँसहित स्रोत नखुलेको एक लाख ३३ हजार १२० रुपैयाँ गरी कुल एक लाख ४५ हजार १२० रुपैयाँ नगद र एक थान मोबाइल बरामद गरिएको आयोगले जनाएको छ। पक्राउ परेका यादवमाथि थप अनुसन्धान भइरहेको अख्तियारले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?