रौतहटमा जग्गा विवाद हिंसात्मक बन्दा एकको मृत्यु, दुई जना पक्राउ

11 घन्टा पहिले प्रकाशित

जनकपुरधाम, असार २४ गते । रौतहटको ईशनाथ नगरपालिका–३ औरैयामा जग्गाको स्वामित्व सम्बन्धी विवाद हिंसात्मक बन्दा चक्कु प्रहारबाट एक जनाको मृत्यु भएको छ। घटनामा संलग्न रहेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरी अनुसन्धान अघि बढाएको छ। मंगलबार राति करिब ८ बजे स्थानीय रामबहादुर साह, बुटन साह तथा रामऔतार साह र उनका छोरा रामेश्वर साहबीच जग्गाको स्वामित्वको विषयलाई लिएर विवाद भएको थियो। सामान्य भनाभन उग्र बन्दै जाँदा दुवै पक्षबीच कुटाकुट भएको र सोही क्रममा रामेश्वर साहले बुटन साहमाथि चक्कु प्रहार गरेको प्रहरीले जनाएको छ। ढाडमा चक्कु लागेर गम्भीर घाइते भएका बुटन साहलाई उपचारका लागि प्रादेशिक अस्पताल गौर लगिएको थियो। उपचारकै क्रममा राति करिब ९ बजे चिकित्सकले उनलाई मृत घोषणा गरेका जिल्ला प्रहरी कार्यालय रौतहटका प्रवक्ता प्रहरी नायव उपरीक्षक वसन्त गौतमले जानकारी दिए।

घटनामा रामबहादुर साह पनि टाउकोमा चोट लागेर घाइते भएका छन्। उनको स्थानीय मेडिकलमा उपचार भइरहेको छ। घटनापछि प्रहरीले रामेश्वर साह र उनका पिता रामऔतार साहलाई नियन्त्रणमा लिएको छ भने घटनामा प्रयोग भएको चक्कु समेत बरामद गरेको जनाएको छ। मृतकको शव पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल गौरमा राखिएको छ। प्रहरीले घटनाबारे थप अनुसन्धान जारी रहेको जनाउँदै स्थानीयलाई यस्ता विवाद कानुनी प्रक्रियामार्फत समाधान गर्न आग्रह गरेको छ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?