श्रीमती हत्या आरोपमा सात वर्षदेखि फरार अभियुक्त सप्तरीबाट पक्राउ
12 घन्टा पहिले प्रकाशित
जनकपुरधाम, असार २३ गते । सप्तरी प्रहरीले श्रीमतीको हत्या गरेको आरोपमा सात वर्षदेखि फरार रहेका एक अभियुक्तलाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा बोदेबरसाइन नगरपालिका–४ निवासी २५ वर्षीय रुन्जे सदा रहेका छन्। जिल्ला प्रहरी कार्यालय सप्तरीका अनुसार उनलाई शनिबार बोदेबरसाइन–४ स्थित सिलहट क्षेत्रबाट पक्राउ गरिएको हो। उनीमाथि २०७६ पुस १७ गते आफ्नी २२ वर्षीया श्रीमती गीता देवी सदालाई कुटपिट गरी घाँटी थिचेर हत्या गरेको तथा घटनालाई आत्महत्याको रूप दिन शवलाई डोरीमा झुन्ड्याएको आरोप छ।
प्रहरीका अनुसार दम्पतीकी छोरीको असामयिक मृत्यु भएपछि उत्पन्न घरायसी विवादका कारण घटना भएको आशंका गरिएको छ। मृतकका बुवा सुकराती सदाले दिएको किटानी जाहेरीका आधारमा कर्तव्य ज्यान मुद्दा दर्ता गरी अनुसन्धान अघि बढाइएको थियो। घटनापछि फरार रहेका रुन्जे सदाको खोजीका क्रममा प्रहरीले उनलाई पक्राउ गरेको जनाएको छ। पक्राउ परेका सदाविरुद्ध अदालतबाट असार २२ गतेदेखि लागू हुने गरी तीन दिनको म्याद लिएर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
कमेन्ट गर्नुहोस्
view comments