जनकपुरधाममा मैथिली पाठ्यपुस्तक ‘अप्पन जनकपुरधाम’ सार्वजनिक
13 घन्टा पहिले प्रकाशित
जनकपुरधाम उपमहानगरपालिकाले स्थानीय भाषा, संस्कृति र पहिचानलाई विद्यालय शिक्षासँग जोड्ने उद्देश्यले मैथिली भाषाको पाठ्यपुस्तक ‘अप्पन जनकपुरधाम’ सार्वजनिक गरेको छ। कक्षा १ देखि ३ सम्मका विद्यार्थीलाई लक्षित गरी तयार गरिएको उक्त पुस्तकले बालबालिकालाई आफ्नै मातृभाषामार्फत प्रारम्भिक शिक्षा हासिल गर्ने अवसर प्रदान गर्ने विश्वास गरिएको छ। नगर प्रमुख मनोज कुमार साहको पहलमा तयार भएको पुस्तकले सिकाइ प्रक्रियालाई थप सहज, प्रभावकारी तथा जीवनोपयोगी बनाउनुका साथै विद्यार्थीलाई स्थानीय परिवेशसँग नजिकबाट परिचित गराउने अपेक्षा गरिएको छ।
पाठ्यपुस्तकमा जनकपुरधामको इतिहास, सांस्कृतिक सम्पदा, भाषा, परम्परा, धार्मिक महत्व तथा स्थानीय पहिचानसँग सम्बन्धित विषयवस्तु बालमैत्री शैलीमा समेटिएको छ। उपमहानगरपालिकाका अनुसार यसले विद्यार्थीमा आफ्नो समाज, संस्कार र सांस्कृतिक सम्पदाप्रति सम्मान तथा अपनत्वको भावना विकास गर्न सहयोग पुर्याउनेछ। स्थानीय पाठ्यक्रमको अवधारणालाई व्यवहारमा उतार्दै तयार गरिएको यो पुस्तकले मातृभाषामा आधारित शिक्षाको प्रवर्द्धन, स्थानीय ज्ञानको संरक्षण तथा विद्यालय शिक्षाको गुणस्तर अभिवृद्धिमा महत्वपूर्ण योगदान पुर्याउने अपेक्षा गरिएको छ।
कमेन्ट गर्नुहोस्
view comments