सिँचाइ विस्तारको लक्ष्य अधुरै, अधिकांश किसान अझै वर्षाकै भरमा

2 दिन पहिले प्रकाशित

जनकपुरधाम, असार १६ गते । देशभर पर्याप्त वर्षा नहुँदा किसानहरूले रोपाइँको समयमा सिँचाइ अभावको समस्या झेलिरहेका छन्। यस्तो अवस्थामा नेपालमा सिँचाइ विस्तारको लक्ष्यसमेत पूर्ण रूपमा हासिल हुन नसकेको तथ्याङ्कले देखाएको छ। सिँचाइ तथा जलस्रोत विभागका अनुसार आवश्यक सिँचाइ क्षेत्रमध्ये हालसम्म ६२.६८ प्रतिशत क्षेत्रमा मात्र सिँचाइ सुविधा पुगेको छ। नेपालमा रहेको ३५ लाख ५७ हजार ७६४ हेक्टर खेतीयोग्य जमिनमध्ये २५ लाख ३६ हजार ३१९ हेक्टर क्षेत्रमा नियमित सिँचाइ आवश्यक पर्ने भए पनि हाल १५ लाख ९० हजार ३८८ हेक्टर जमिनमा मात्रै सिँचाइ सुविधा उपलब्ध भएको छ। बाँकी क्षेत्र अझै आकाशे पानीमा निर्भर रहँदा किसानहरू उत्पादन जोखिमसँग जुध्न बाध्य छन्।

यस वर्ष समयमै पर्याप्त वर्षा नहुँदा धेरै जिल्लामा धान रोपाइँ प्रभावित भएको छ। कतिपय स्थानमा रोपाइँका लागि तयार पारिएको धानको बीउ नै सुक्न थालेको छ भने अधिकांश किसान वर्षाको प्रतीक्षामा रहेका छन्। विभागका सूचना अधिकारी रामप्रसाद पौडेलका अनुसार गत आर्थिक वर्ष २०८१/८२ मा १६ हजार ३०८ हेक्टर क्षेत्रमा थप सिँचाइ सुविधा विस्तार गर्ने लक्ष्य राखिएको थियो। चालु आर्थिक वर्ष २०८२/८३ मा छ हजार ७५० हेक्टर क्षेत्र थप सिँचाइको पहुँचमा ल्याउने लक्ष्य रहे पनि चैत मसान्तसम्म चार हजार ४८ हेक्टर क्षेत्रमा मात्र सुविधा विस्तार भएको छ। आन्दोलन र आयोजना कटौतीका कारण लक्ष्यअनुसार प्रगति हुन नसकेको विभागले जनाएको छ। कृषि उत्पादन वृद्धि, खाद्य सुरक्षा तथा जलवायु परिवर्तनका चुनौती सामना गर्न दीर्घकालीन र भरपर्दो सिँचाइ पूर्वाधारको विकास अपरिहार्य रहेको भन्दै विज्ञहरूले सिँचाइ विस्तारलाई अझ प्रभावकारी बनाउनुपर्ने आवश्यकता औँल्याएका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?