आलुमा अझै परनिर्भर नेपाल, वार्षिक झन्डै ९ अर्ब रुपैयाँको आयात
7 घन्टा पहिले प्रकाशित
जनकपुरधाम, असार ११ गते । खाद्य सुरक्षा र कृषि अर्थतन्त्रको महत्वपूर्ण आधार मानिने आलु बालीमा नेपाल अझै आत्मनिर्भर बन्न सकेको छैन। नेपाल कृषि अनुसन्धान परिषद् (नार्क) अन्तर्गतको राष्ट्रिय आलु, तरकारी तथा मसलाबाली विकास केन्द्रका अनुसार देशमा वार्षिक ३९ लाख ७० हजार ३६७ मेट्रिक टन आलुको माग रहे पनि आन्तरिक उत्पादन ३६ लाख ८१ हजार ५१७ मेट्रिक टनमा सीमित छ। यसले वार्षिक करिब २ लाख ८८ हजार ८५० मेट्रिक टन आलुको अभाव देखाएको छ, जुन परिमाण आयातमार्फत पूर्ति हुँदै आएको छ। साथै उत्पादन भएको आलुमध्ये करिब २५ प्रतिशत उत्पादनपश्चात् हुने क्षतिका कारण खेर जाने गरेको तथ्यांकले देखाएको छ।
विशेषज्ञहरूका अनुसार गुणस्तरीय बीउ उत्पादन, आधुनिक भण्डारण पूर्वाधार विस्तार तथा उत्पादनपश्चात्को क्षति न्यूनीकरण गर्न सके नेपाल आलुमा आत्मनिर्भर बन्न सक्ने सम्भावना छ। हाल मागअनुसार आलु तथा बीउ आलु उत्पादन हुन नसक्दा नेपालले वर्षेनी करिब ९ अर्ब रुपैयाँ बराबरको आलु र आलुको बीउ आयात गरिरहेको छ। चालु आर्थिक वर्षको ११ महिनामै ७ अर्ब ८६ करोड रुपैयाँभन्दा बढी मूल्यको आलु तथा बीउ आयात भएको भन्सार तथ्यांकले देखाएको छ। मुख्य रूपमा भारत र बंगलादेशबाट आलु आयात हुने गरेको छ।
कमेन्ट गर्नुहोस्
view comments