सञ्चार माध्यममा भाषाको शुद्धता र मर्यादित प्रयोग आवश्यक : मन्त्री थापा
7 घन्टा पहिले प्रकाशित
जनकपुरधाम, असार ११ गते । मधेश प्रदेशकी श्रम तथा यातायात मन्त्री शारदादेवी थापाले सञ्चार माध्यममा भाषाको शुद्धता, सही अर्थ र मर्यादित प्रयोगले विश्वसनीयता तथा गरिमा कायम राख्न महत्वपूर्ण भूमिका खेल्ने बताएकी छन्। आम सञ्चार प्राधिकरण मधेश प्रदेशको समन्वय तथा नेपाल पत्रकार महासङ्घ महोत्तरी शाखाको आयोजनामा बर्दीबासमा सुरु भएको दुईदिने ‘मधेश प्रदेशको भाषिक पत्रकारिता एवं सञ्चार माध्यम प्रवर्धन’ सम्बन्धी कार्यशालाको उद्घाटन गर्दै उनले सञ्चारकर्मीहरू भाषा प्रयोगमा सजग र संवेदनशील हुनुपर्ने आवश्यकता औँल्याइन्।
मन्त्री थापाले बहुभाषिक समाजमा मातृभाषाको प्रयोगले नागरिकलाई सरकारका गतिविधि तथा सेवाबारे सहज जानकारी प्राप्त हुने बताउँदै स्थानीय भाषाको संरक्षण र प्रवर्धनमा सञ्चार माध्यमको भूमिका महत्वपूर्ण रहेको उल्लेख गरिन्। कार्यक्रममा आम सञ्चार प्राधिकरण मधेश प्रदेशका अध्यक्ष जितेन्द्र खड्काले सञ्चार क्षेत्रको क्षमता अभिवृद्धिका लागि छात्रवृत्ति, उपकरण खरिदमा अनुदान, लेखनवृत्ति तथा विभिन्न पुरस्कार कार्यक्रम सञ्चालन गरिएको जानकारी दिए। नेपाल पत्रकार महासङ्घ महोत्तरी शाखाका अध्यक्ष महेशकुमार दासले सामाजिक सञ्जालमार्फत फैलिने भ्रमपूर्ण सूचनाप्रति सचेत रहन आग्रह गर्दै जिम्मेवार पत्रकारिताको आवश्यकता औँल्याए। दुई दिनसम्म सञ्चालन हुने कार्यशालामा मधेश प्रदेशका ४० भन्दा बढी सञ्चारकर्मी सहभागी छन्।
कमेन्ट गर्नुहोस्
view comments