रास्वपालाई बाबुराम भट्टराईको सुझाव : ‘संघीयता होइन, सुशासन र विकासमा केन्द्रित हुनुस्’

12 घन्टा पहिले प्रकाशित

काठमाडौं, असार ११ गते । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) लाई प्रदेशसभा खारेजी तथा संघीय संरचना कमजोर बनाउने एजेन्डाबाट पछि हटेर सुशासन, सेवा प्रवाह र विकासका मुद्दामा केन्द्रित हुन सुझाव दिएका छन्। रास्वपाले आफ्नो प्रथम महाधिवेशनमार्फत प्रदेशसभा खारेजी र संघीय संरचनामाथि पुनर्विचार गर्ने निर्णय गरेको सन्दर्भमा सामाजिक सञ्जाल फेसबुकमार्फत प्रतिक्रिया जनाउँदै उनले यस्तो कदम मुलुकका लागि गम्भीर राजनीतिक भूल हुन सक्ने बताएका हुन्।

डा. भट्टराईले संविधान संशोधनजस्तो संवेदनशील विषयमा पर्याप्त राष्ट्रिय सहमतिविना निर्णय अघि बढाउनु विधिको शासन र राजनीतिक स्थिरताका दृष्टिले उपयुक्त नहुने उल्लेख गरेका छन्। नेपालजस्तो जातीय, भाषिक र क्षेत्रीय विविधता भएको मुलुकमा लामो राजनीतिक संघर्ष र व्यापक सहमतिबाट स्थापित संघीय व्यवस्थालाई हतारमा कमजोर पार्ने प्रयासले जातीय तथा क्षेत्रीय तनाव बढाउन सक्ने चेतावनी पनि उनले दिएका छन्। संविधान संशोधनबारे अधिकतम राष्ट्रिय सहमति नबन्दासम्म विवादास्पद एजेन्डाभन्दा सुशासन, प्रभावकारी सेवा प्रवाह र विकासका कार्यमा ध्यान केन्द्रित गर्नु बुद्धिमानी हुने उनको सुझाव छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?