प्रदेशसभा खारेजी प्रस्तावप्रति जनअधिकार पार्टीको आपत्ति

10 घन्टा पहिले प्रकाशित

जनकपुरधाम, असार १० गते ।  जनअधिकार पार्टीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उपसभापति स्वर्णिम वाग्लेले अघि सारेको प्रदेशसभा खारेजीको प्रस्तावप्रति गम्भीर आपत्ति जनाएको छ। पार्टी अध्यक्ष डा. शरद सिंह यादवले जारी गरेको विज्ञप्तिमा रास्वपाको महाधिवेशनमा प्रस्तुत उक्त प्रस्तावलाई खेदजनक भन्दै यसलाई सङ्घीयता खारेजीको स्पष्ट संकेतका रूपमा व्याख्या गरेका छन्।

विज्ञप्तिमा पूर्ण स्वायत्ततासहितको सङ्घीयताको माग भइरहेको अवस्थामा प्रदेशसभा खारेजीको प्रस्ताव आउनु दुर्भाग्यपूर्ण भएको उल्लेख गर्दै प्रदेशसभा खारेज हुनु भनेको सङ्घीयता नै समाप्त हुनु सरह रहेको जनाइएको छ। जनअधिकार पार्टीले सङ्घीयता सीमान्तकृत मधेसी, थारु, आदिवासी, जनजाति तथा अल्पसङ्ख्यक समुदायको लामो संघर्ष र बलिदानबाट प्राप्त उपलब्धि भएको स्मरण गराएको छ। साथै सबै अधिकार पुनः काठमाडौंमै केन्द्रित गर्ने प्रयास नगर्न चेतावनी दिँदै पार्टीले पूर्ण स्वायत्ततासहितको सङ्घीयताको पक्षमा आफ्नो अडान दोहोर्‍याएको छ। सङ्घीयतामाथि हुने कुनै पनि आक्रमणको प्रतिवाद गर्न तराई–मधेसका जनसमुदायलाई तयार रहन पनि पार्टीले आह्वान गरेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?