रास्वपा प्रवेश गरेका कांग्रेसका तीन जनप्रतिनिधि पदमुक्त

13 घन्टा पहिले प्रकाशित

काठमाडौं, असार ९ गते ।  नेपाली कांग्रेसबाट निर्वाचित भई राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मा प्रवेश गरेका तीन जना जनप्रतिनिधि पदमुक्त भएका छन्। पदमुक्त हुनेमा जुम्लाको गुठिचौर गाउँपालिकाका अध्यक्ष दानबहादुर बुढा, पश्चिम नवलपरासीको पाल्हीनन्दन गाउँपालिकाकी उपाध्यक्ष फातिमा खातुन अन्सारी तथा रुपन्देहीको बुटवल उपमहानगरपालिका–३ का वडा अध्यक्ष विष्णु ढकाल रहेका छन्।

निर्वाचन आयोगले राजनीतिक दल सम्बन्धी ऐन, २०७३ तथा राजनीतिक दल सम्बन्धी नियमावली, २०७४ बमोजिम उनीहरूको पद रिक्त भएको जनाएको छ। नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिले उनीहरू कांग्रेस त्याग गरी अन्य दलमा आबद्ध भएको निर्णयसहित आयोगलाई जानकारी गराएपछि आयोगको असार ८ गते बसेको बैठकले पद रिक्त गर्ने निर्णय गरेको हो। कानूनी व्यवस्थाअनुसार कुनै पनि निर्वाचित जनप्रतिनिधिले आफू निर्वाचित भएको दल त्यागेमा उसको पद स्वतः रिक्त हुने प्रावधान रहेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?