रास्वपाको पहिलो महाधिवेशनमा सांसद अमरेशकुमार सिंह अनुपस्थित
3 घन्टा पहिले प्रकाशित
जनकपुरधाम, असार ८ गते । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को पहिलो महाधिवेशनको भव्य उद्घाटन चितवनमा सम्पन्न भएको छ। पार्टी स्थापनाको चौथो वर्षको अवसरमा आयोजित महाधिवेशन उद्घाटन समारोहमा हजारौं कार्यकर्ता, समर्थक तथा पार्टीका शीर्ष नेताहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।
महाधिवेशनमा पार्टीका अधिकांश पदाधिकारी, केन्द्रीय सदस्य तथा सांसदहरू सहभागी भए पनि सर्लाही–४ बाट निर्वाचित सांसद अमरेशकुमार सिंह भने उद्घाटन समारोहमा अनुपस्थित रहे। सिंहका स्वकीय सचिव रञ्जित झाका अनुसार सांसद सिंह हाल काठमाडौंमै रहेका छन् र महाधिवेशनमा सहभागी भएका छैनन्।
‘उहाँ अहिले काठमाडौंमै हुनुहुन्छ। महाधिवेशनमा जानुभएको छैन। किन नजानुभएको हो भन्ने विषयमा जानकारी छैन,’ झाले बताएका छन्।
सांसद सिंहले पछिल्लो समय पार्टीभित्र विभिन्न विषयमा फरक धारणा राख्दै आएका छन्। उनले सार्वजनिक रूपमा समेत पार्टी र सरकारका गतिविधिप्रति असन्तुष्टि व्यक्त गर्दै आएका थिए। संसदमा समेत उनले सरकारको कार्यशैलीबारे आलोचनात्मक धारणा राखेका थिए। रास्वपाको पहिलो महाधिवेशनका क्रममा उनको अनुपस्थितिलाई राजनीतिक वृत्तमा चासोका साथ हेरिएको छ।
कमेन्ट गर्नुहोस्
view comments