रौतहटमा सुरुङ खनेर तीन घरमा चोरी, लाखौंको नगद तथा गहना गायब
12 घन्टा पहिले प्रकाशित
जनकपुरधाम, असार ४ गते । रौतहटको फतुवा विजयपुर नगरपालिका–६ मोतिपुर टोलमा बुधबार राति अज्ञात समूहले सुरुङ खनेर तीन घरमा प्रवेश गर्दै नगद तथा सुनचाँदीका गहना चोरी गरेको छ। घरधनीहरू गहिरो निद्रामा रहेका बेला चोरहरूले रामप्रसाद यादव, तेजनारायण यादव र गजेन्द्र सहनीको घरमा पालैपालो प्रवेश गरेका थिए। पीडित परिवारका अनुसार रामप्रसाद यादवको घरबाट नगद २ लाख ८० हजार रुपैयाँ तथा करिब २ लाख ४० हजार रुपैयाँ बराबरका सुनका गहना चोरी भएका छन्।
त्यसैगरी तेजनारायण यादवको घरबाट करिब २० हजार रुपैयाँ मूल्य बराबरका चाँदीका गहना चोरी भएको बताइएको छ। गजेन्द्र सहनीको घरमा समेत चोरहरू प्रवेश गरे पनि कुनै सामान चोरी नभएको स्थानीयले जनाएका छन्। घटनाको जानकारी पाएपछि इलाका प्रहरी कार्यालय विजयपुरको टोली घटनास्थल पुगेको थियो। वडा अध्यक्ष रामएकवाल यादवका अनुसार ट्रङ्क र बाकसाको ताला तोडफोड नगरी खोलिएको अवस्थामा फेला परेकाले नक्कली चाबी प्रयोग गरिएको हुनसक्ने अनुमान गरिएको छ। घटनाबारे प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ।
कमेन्ट गर्नुहोस्
view comments