मधेस प्रदेशमा बजेट खर्चको निराशाजनक अवस्था, ११ महिनामा २१ प्रतिशत मात्र खर्च
12 घन्टा पहिले प्रकाशित
जनकपुरधाम, असार ४ गते । मधेस प्रदेश सरकारले चालु आर्थिक वर्ष २०८२/०८३ को ११ महिनामा कुल बजेटको २१.२४ प्रतिशत मात्र खर्च गर्न सकेको छ। प्रदेश लेखा नियन्त्रक कार्यालयका अनुसार ४६ अर्ब ९८ करोड ३३ लाख रुपैयाँभन्दा बढीको कुल बजेटमध्ये जेठ मसान्तसम्म ९ अर्ब ९८ करोड ५४ लाख रुपैयाँ मात्र खर्च भएको छ। आर्थिक वर्ष सकिन एक महिना बाँकी रहँदा प्रदेश सरकारसँग अझै ३७ अर्ब रुपैयाँभन्दा बढी बजेट खर्च हुन बाँकी रहेको छ। यस अवधिमा चालुतर्फ ३६.२२ प्रतिशत र पुँजीगततर्फ केवल १३.७६ प्रतिशत बजेट खर्च भएको तथ्यांकले विकास निर्माणका योजनाहरू अपेक्षाअनुसार अघि बढ्न नसकेको संकेत गरेको छ।
मन्त्रालयगत विवरणअनुसार खेलकुद तथा समाज कल्याण मन्त्रालयले सबैभन्दा कम ०.५८ प्रतिशत पुँजीगत बजेट खर्च गरेको छ भने अर्थ मन्त्रालयले सबैभन्दा बढी २४.५९ प्रतिशत खर्च गरेको छ। उद्योग, पर्यटन, स्वास्थ्य, शिक्षा, ऊर्जा तथा यातायातलगायत अधिकांश मन्त्रालयको पुँजीगत खर्च पनि न्यून देखिएको छ। यद्यपि अर्थमन्त्री युवराज भट्टराईले आर्थिक वर्षको अन्त्यसम्म कुल बजेटको ५९.१५ प्रतिशत खर्च हुने प्रक्षेपण प्रस्तुत गर्दै करिब २७ अर्ब ७९ करोड रुपैयाँ खर्च हुने अनुमान गर्नुभएको छ। प्रदेश सरकारको कमजोर खर्च क्षमताले विकास बजेट कार्यान्वयन र जनअपेक्षा पूरा गर्ने विषयमा गम्भीर प्रश्न उठाएको छ।
कमेन्ट गर्नुहोस्
view comments