महिला नेतृत्वका मुद्दालाई सञ्चारमाध्यममा प्राथमिकता दिनुपर्नेमा जोड
12 घन्टा पहिले प्रकाशित
जनकपुरधाम, असार ४ गते । मधेश प्रदेशका महिला राजनीतिकर्मी तथा जनप्रतिनिधिहरूले महिला नेतृत्वसँग सम्बन्धित मुद्दा, गतिविधि र उपलब्धिलाई सञ्चारमाध्यमले पर्याप्त महत्व दिनुपर्ने बताएका छन्। मिडिया एड्भोकेसी ग्रुप (म्याग) ले जनकपुरधाममा आयोजना गरेको महिला राजनीतिकर्मी र सञ्चारकर्मीबीचको अन्तरक्रिया कार्यक्रममा सहभागीहरूले महिला आवाजलाई प्रभावकारी रूपमा जनतामाझ पुर्याउन सञ्चारमाध्यमको भूमिका अझ जिम्मेवार, समावेशी र संवेदनशील हुनुपर्नेमा जोड दिएका हुन्। वक्ताहरूले शिक्षा, स्वास्थ्य, लैङ्गिक समानता, सामाजिक न्याय तथा स्थानीय विकासका विषयमा महिलाले निरन्तर आवाज उठाए पनि ती विषयले सञ्चारमाध्यममा अपेक्षित स्थान नपाउने गरेको गुनासो गरे।
कार्यक्रममा प्रदेशसभा सदस्य जीवछी यादवले महिला नेतृत्वलाई सशक्त बनाउन सञ्चारमाध्यम र महिला राजनीतिकर्मीबीचको संवाद तथा सहकार्य सुदृढ हुनुपर्ने बताउनुभयो। विभिन्न महिला जनप्रतिनिधि तथा राजनीतिकर्मीहरूले महिलाका सकारात्मक काम, नेतृत्व क्षमता, संघर्ष र उपलब्धिलाई समाचारमा प्राथमिकता दिन आग्रह गरे। सञ्चारकर्मीहरूले पनि तथ्यपरक, सन्तुलित र समावेशी पत्रकारितामार्फत महिला मुद्दालाई प्रभावकारी रूपमा उठाउने प्रतिबद्धता जनाएका थिए। कार्यक्रममा मिडिया एड्भोकेसी ग्रुपकी कार्यकारी निर्देशक बबिता बस्नेत, विभिन्न राजनीतिक दलका महिला नेतृहरू, जनप्रतिनिधि तथा सञ्चारकर्मीहरूको सहभागिता रहेको थियो।
कमेन्ट गर्नुहोस्
view comments