मधेश प्रदेशको बजेट ४१ अर्ब १३ करोड, पूर्वाधार र रोजगारीमा जोड
13 घन्टा पहिले प्रकाशित
जनकपुरधाम, असार २ गते । मधेश प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८३/०८४ का लागि ४१ अर्ब १३ करोड ८६ लाख रुपैयाँको बजेट सार्वजनिक गरेको छ। प्रदेश सभाको सोमबार बसेको बैठकमा अर्थमन्त्री युवराज भट्टराईले बजेट प्रस्तुत गर्दै उत्पादन वृद्धि, रोजगारी सिर्जना तथा पूर्वाधार विकासलाई प्राथमिकतामा राखिएको जानकारी दिनुभयो। यो बजेट चालु आर्थिक वर्ष २०८२/०८३ को ४६ अर्ब ५८ करोड रुपैयाँको बजेटभन्दा करिब ५ अर्ब ४४ करोड रुपैयाँले कम रहेको छ। कुल बजेटमध्ये चालुतर्फ १४ अर्ब ६६ करोड ३२ लाख रुपैयाँ र पुँजीगततर्फ २६ अर्ब ४७ करोड ५३ लाख रुपैयाँ विनियोजन गरिएको छ।
बजेट कार्यान्वयनका लागि प्रदेश सरकारले आन्तरिक राजस्व तथा अन्य स्रोतबाट ११ अर्ब २२ करोड ७५ लाख रुपैयाँ जुटाउने लक्ष्य राखेको छ भने संघीय सरकारबाट राजस्व बाँडफाँटमार्फत १२ अर्ब ८३ करोड रुपैयाँ प्राप्त हुने अपेक्षा गरिएको छ। यस्तै, संघीय सरकारबाट वित्तीय अनुदानस्वरूप १७ अर्ब ५९ करोड ८७ लाख रुपैयाँ प्राप्त हुने अनुमान गरिएको छ। चालु आर्थिक वर्षको मौज्दातबाट ६ अर्ब ८ करोड ५२ लाख रुपैयाँ परिचालन गरिने तथा १ अर्ब ५० करोड रुपैयाँ आन्तरिक ऋण उठाइने लक्ष्य पनि बजेटमा समावेश गरिएको छ। अर्थमन्त्री भट्टराईले सीमित स्रोतसाधन र राजस्व संकलनका चुनौतीका बीच ल्याइएको बजेटले प्रदेशको आर्थिक गतिविधि विस्तार गरी जनताको जीवनस्तर सुधारमा महत्वपूर्ण योगदान पुर्याउने विश्वास व्यक्त गर्नुभयो।
कमेन्ट गर्नुहोस्
view comments