प्रहरीको कार्यशैलीप्रति हर्क साम्पाङको आपत्ति, नागरिकमा डरको वातावरण अन्त्य गर्न माग
4 दिन पहिले प्रकाशित
काठमाडौं, असार १ गते । श्रम संस्कृति पार्टीका अध्यक्ष तथा संसदीय दलका नेता हर्क साम्पाङले प्रहरीको पछिल्लो कार्यशैलीप्रति गम्भीर आपत्ति जनाउँदै नागरिकमा सुरक्षा र विश्वासको वातावरण कायम गर्न सरकारको ध्यानाकर्षण गराएका छन्। सोमबार प्रतिनिधिसभाको बैठकमा आकस्मिक समय लिएर बोल्दै उनले सुस्ता क्षेत्रमा भारतीय सशस्त्र सीमा बल (एसएसबी) द्वारा भएको भनिएको अतिक्रमण तथा नेपाली नागरिकमाथिको धाकधम्कीको विरोध गर्ने युवाहरूलाई पक्राउ गरिएको घटनाको आलोचना गरे। उनले शान्तिपूर्ण विरोधमा सहभागी नागरिकमाथि दमन हुनु लोकतान्त्रिक मूल्य–मान्यताविपरीत भएको बताए।
साम्पाङले विद्यार्थीका मोबाइल फोन खोस्ने तथा नष्ट गर्ने, एक विपन्न टेम्पो चालकको सवारी साधन वन प्रहरीको उपस्थितिमा भीरबाट खसालिएको भनिएको घटनाप्रति पनि आपत्ति जनाए। दोषीमाथि कारबाही र पीडितलाई क्षतिपूर्ति उपलब्ध गराउन माग गर्दै उनले प्रहरी देख्दा नागरिकले सुरक्षा महसुस गर्नुपर्नेमा डर र आतंकको अनुभूति हुने अवस्था सिर्जना भएको टिप्पणी गरे। साथै, माईतीघर मण्डलामा प्रदर्शनमा सहभागी अजय सोदारी र बिरजन बिकलाई पक्राउ गरी झुट्टा मुद्दा लगाउने प्रयास भइरहेको दाबी गर्दै उनीहरूको तत्काल रिहाइको माग गरे। उनले प्रधानमन्त्री बालेन्द्र साहको विवादित भनिएको अभिव्यक्तिलाई संसद्को अभिलेखबाट हटाउनुपर्ने आफ्नो मागसमेत दोहोर्याएका छन्।
कमेन्ट गर्नुहोस्
view comments