मापदण्डविपरीत सञ्चालित निजी विद्यालयमाथि उपमहानगरको कडाइ

12 घन्टा पहिले प्रकाशित

जनकपुरधाम, जेठ २७ गते ।  जीतपुरसिमरा उपमहानगरपालिकाले मापदण्डविपरीत सञ्चालनमा रहेका निजी विद्यालयमाथि कडाइ गर्दै ८ वटा विद्यालयलाई अनुमति खारेजसम्मको चेतावनी दिएको छ। पालिकाबाट प्राथमिक तथा आधारभूत तहको मात्र अनुमति लिएर माथिल्लो कक्षा सञ्चालन गरेको, अभिभावकलाई भ्रममा पारी भर्ना गरेको तथा अन्य विद्यालयको नामबाट परीक्षा दिलाएको पाइएपछि कारबाही प्रक्रिया अघि बढाइएको हो। शिक्षा महाशाखाले स्वीकृत प्राप्त कक्षामा मात्र विद्यार्थी भर्ना तथा पठनपाठन गराउन सम्बन्धित विद्यालयलाई निर्देशन दिएको छ।

यसअघि नगर शिक्षा समितिले नियमविपरीत सञ्चालनमा रहेका ४ वटा संस्थागत विद्यालय बन्द गर्ने निर्णय गरिसकेको छ। एउटै भवनमा दुई विद्यालय सञ्चालन गरेको, अनुमति लिएको स्थानभन्दा अन्यत्र विद्यालय चलाएको तथा स्वीकृतिभन्दा फरक ढंगले कक्षा सञ्चालन गरेको पाइएपछि ती विद्यालय बन्द गरिएको शिक्षा शाखाले जनाएको छ। उपमहानगरले विद्यार्थीहरूको शैक्षिक भविष्य सुरक्षित रहने भन्दै आवश्यक परे अन्य विद्यालयमा स्थानान्तरणको व्यवस्था गरिने जनाएको छ। पछिल्लो समय निजी विद्यालयको नियमनमा सक्रिय बनेको उपमहानगरले शुल्क निर्धारणदेखि छात्रवृत्ति छनोट प्रक्रियासम्म कडाइ गर्दै आएको छ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?