मन्त्रिपरिषद् विस्तार : सुधन गुरुङ गृहमन्त्री, महावीर पुन विज्ञान तथा प्रविधिमन्त्री नियुक्त
7 घन्टा पहिले प्रकाशित
काठमाडौं, जेठ २६ गते । प्रधानमन्त्री बालेन शाहले मन्त्रिपरिषद् विस्तार गर्दै गृहमन्त्रीमा सुधन गुरुङ र विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्रीमा महावीर पुनलाई नियुक्त गरेका छन्। दुवै मन्त्रीले सोमबार राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष पद तथा गोपनीयताको शपथ ग्रहण गरेका हुन्। शीतलनिवासमा आयोजित शपथ ग्रहण समारोहमा राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री, प्रधानन्यायाधीश, सभामुख, राष्ट्रियसभा अध्यक्ष, मन्त्रीहरू तथा सांसदहरूको उपस्थिति रहेको थियो।
गोरखा–१ बाट निर्वाचित राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद गुरुङ यसअघि पनि गृहमन्त्रीको जिम्मेवारीमा थिए। सम्पत्ति विवरणसँग सम्बन्धित विवादपछि उनले पदबाट राजीनामा दिएका थिए। तर सरकारद्वारा गठित छानबिन समितिले उनीमाथि लागेको आरोप पुष्टि नभएको निष्कर्ष निकालेपछि पुनः गृहमन्त्रीमा नियुक्त भएका हुन्। यस्तै म्याग्दीबाट निर्वाचित स्वतन्त्र सांसद महावीर पुन यसअघि सुशीला कार्की नेतृत्वको सरकारमा शिक्षा, विज्ञान तथा प्रविधिमन्त्रीको जिम्मेवारी सम्हालिसकेका छन्। फागुन २१ को निर्वाचनअघि मन्त्री पदबाट राजीनामा दिएका पुन अब विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्रालयको नेतृत्वमा फर्किएका छन्।
कमेन्ट गर्नुहोस्
view comments