रास्वपाको अन्तर्राष्ट्रिय सम्बन्ध विभागमा हिक्मतजंग कार्की मनोनीत
6 घन्टा पहिले प्रकाशित
काठमाडौं, जेठ २५ गते । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले केन्द्रीय अन्तर्राष्ट्रिय सम्बन्ध विभागको सदस्यमा हिक्मतजंग कार्कीलाई मनोनीत गरेको छ। पार्टीले कार्कीलाई आफ्नो विधान, नीति, सिद्धान्त तथा विभागीय नियमावलीअनुसार जिम्मेवारी प्रभावकारी रूपमा निर्वाह गर्ने विश्वासका साथ उक्त पदमा नियुक्त गरेको जनाएको छ। अन्तर्राष्ट्रिय सम्बन्ध र कूटनीतिक क्षेत्रमा अनुभव हासिल गरेका कार्कीले युनिभर्सिटी अफ इस्ट लन्डनबाट अन्तर्राष्ट्रिय सम्बन्धमा स्नातकोत्तर तथा त्रिभुवन विश्वविद्यालयबाट मानविकी तथा सामाजिक शास्त्रमा स्नातक तहको अध्ययन पूरा गरेका छन्।
कार्कीले विगतमा संयुक्त राष्ट्रसंघीय वर्ल्ड अर्बन फोरमसहित अमेरिका, न्यूजिल्याण्ड, फिनल्याण्ड, जर्मनी, मोरक्को र बेलायतमा आयोजित विभिन्न अन्तर्राष्ट्रिय मञ्चहरूमा नेपालको प्रतिनिधित्व गर्दै नीतिगत संवाद र अन्तर्राष्ट्रिय सञ्जाल विस्तारमा योगदान दिएका छन्। सहरी योजनाका क्षेत्रमा समेत विज्ञता हासिल गरेका उनले नगर विकास कोषको सञ्चालक समिति सदस्यका रूपमा सेवा गरिसकेका छन्। विभागमा मनोनीत भएपछि कार्कीले पार्टीको नीति र सिद्धान्तप्रति प्रतिबद्ध रहँदै अन्तर्राष्ट्रिय सम्बन्धलाई थप सुदृढ, प्रभावकारी र विस्तारित बनाउन सक्रिय भूमिका निर्वाह गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।
कमेन्ट गर्नुहोस्
view comments