अनुशासन उल्लंघनको आरोपमा बारा कांग्रेस सभापति राजेश राय यादव निलम्बित
12 घन्टा पहिले प्रकाशित
जनकपुरधाम, जेठ २२ गते । नेपाली कांग्रेसले पार्टीको आधिकारिक उम्मेदवारविरुद्ध गतिविधि गरेको आरोपमा बारा जिल्ला सभापति राजेश राय यादवलाई पदबाट निलम्बन गरेको छ। केन्द्रीय अनुशासन समितिको बिहीबार बसेको बैठकले प्रतिनिधि सभा सदस्य निर्वाचनमा पार्टी उम्मेदवारलाई हराउन सक्रिय भूमिका खेलेको तथा पार्टी अनुशासन उल्लंघन गरेको आरोपमा अन्तिम निर्णय नभएसम्मका लागि उनलाई सभापतिको जिम्मेवारीबाट निलम्बन गर्ने निर्णय गरेको हो।
पार्टीका अनुसार यादवविरुद्ध निर्वाचनमा आधिकारिक उम्मेदवारको विपक्षमा लागेको भन्दै उजुरी परेपछि केन्द्रीय अनुशासन समितिले वैशाख ३० गते पहिलो पटक पाँच दिनको समय दिएर स्पष्टीकरण माग गरेको थियो। त्यसको जवाफ नआएपछि जेठ १२ गते पुनः तीन दिनको समयसहित दोस्रो पटक स्पष्टीकरण सोधिएको थियो। तर, दुवै पटक उनले कुनै प्रतिक्रिया नदिएको समितिले जनाएको छ। समितिले थप अनुसन्धान गरी अन्तिम निर्णयमा पुग्नुपर्ने निष्कर्षसहित निलम्बनको निर्णय गरेको हो।
कमेन्ट गर्नुहोस्
view comments