अत्यधिक गर्मीका कारण बर्दिबासका सबै विद्यालय तीन दिन बन्द
12 घन्टा पहिले प्रकाशित
जनकपुरधाम, जेठ २१ गते । अत्यधिक गर्मी र तातो हावा (लु) का कारण विद्यार्थीहरू कक्षाकोठामै बेहोस हुन थालेपछि बर्दिबास नगरपालिकाले नगरभित्र सञ्चालित सबै विद्यालय तीन दिनका लागि बन्द गर्ने निर्णय गरेको छ। नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत राममणि अधिकारीका अनुसार विद्यार्थीहरूको स्वास्थ्य, सुरक्षा र हितलाई ध्यानमा राख्दै सामुदायिक, संस्थागत तथा धार्मिक विद्यालयमा अस्थायी बिदा दिइएको हो। पछिल्ला दिनहरूमा तापक्रम ३८ डिग्री सेल्सियसभन्दा माथि पुगेपछि विद्यालयको पठनपाठन प्रभावित हुँदै आएको थियो।
जस्तापाताको छाना भएका कक्षाकोठामा अत्यधिक गर्मीका कारण विद्यार्थीहरूमा टाउको दुख्ने, रिङ्गटा लाग्ने, सास फेर्न गाह्रो हुने र बेहोस हुने समस्या बढेको शिक्षकहरूले बताएका छन्। मंगलबार बर्दिबास–९ स्थित राष्ट्रिय माध्यमिक विद्यालयमा २० जना विद्यार्थी बेहोस भएका थिए भने बुधबार थप पाँच जना विद्यार्थी अचेत भएपछि विद्यालयमा त्रासको वातावरण बनेको थियो। यसअघि कान्तिबजारस्थित विद्यालयमा पनि १० जना छात्रा बेहोस भएका थिए। बर्दिबास नगरपालिकाभित्र रहेका ८२ वटा विद्यालयमा २५ हजारभन्दा बढी विद्यार्थी अध्ययनरत छन्। नगरपालिकाले मौसम अनुकूल भएपछि पुनः विद्यालय सञ्चालनबारे निर्णय गर्ने जनाएको छ।
कमेन्ट गर्नुहोस्
view comments