भ्रष्टाचार मुद्दामा मधेशका निलम्बित प्रदेशसभा सदस्य सिंह दोषी ठहर, ४ वर्षभन्दा बढी कैद सजाय
11 घन्टा पहिले प्रकाशित
जनकपुरधाम, जेठ २० गते । विशेष अदालतले मधेश प्रदेशका निलम्बित प्रदेशसभा सदस्य सरोजकुमार सिंह लाई भ्रष्टाचार मुद्दामा दोषी ठहर गर्दै ४ वर्ष १ महिना कैद तथा ३८ लाख ५० हजार १३९ रुपैयाँ जरिवानाको फैसला सुनाएको छ। मङ्गलबार विशेष अदालतका अध्यक्ष सुदर्शनदेव भट्ट तथा सदस्यहरू उमेश कोइराला र विदुर कोइराला को इजलासले उक्त फैसला सुनाएको हो। अदालतले ‘अपराध पीडित संरक्षण ऐन, २०७५’ बमोजिम सिंहबाट १ लाख ५४ हजार ५ रुपैयाँ ५६ पैसा क्षतिपूर्ति शुल्क असुल गरी पीडित राहत कोषमा जम्मा गर्न आदेश दिएको छ।
अदालतका अनुसार महोत्तरी निर्वाचन क्षेत्र नं. ४ (ख) बाट निर्वाचित सिंहले विभिन्न उपभोक्ता समितिबाट ‘घुस कमिसन’ का रूपमा ३८ लाख ५० हजार १३९ रुपैयाँ लिएको पुष्टि भएको छ। उपभोक्ता समितिको खाताबाट उनका स्वकीय सचिव विनोदकुमार लाल कायस्थमार्फत रकम झिकेर आफ्नै तथा श्रीमतीको संयुक्त खातामा जम्मा गरिएको अभियोग प्रमाणित भएपछि अदालतले उक्त रकमलाई भ्रष्टाचारको बिगो कायम गरेको हो। अदालतले घुसबापत प्राप्त सम्पूर्ण रकम सरकारी कोषमा जफत गर्नसमेत आदेश दिएको छ।
कमेन्ट गर्नुहोस्
view comments