वीरगञ्ज नाकाबाट दलहन आयातमा २२ प्रतिशत गिरावट, १० महिनामा ७ अर्ब ९७ करोडको आयात
1 दिन पहिले प्रकाशित
जनकपुरधाम, जेठ १९ गते । चालु आर्थिक वर्षको पहिलो १० महिनामा वीरगञ्ज भन्सार नाका हुँदै रु ७ अर्ब ९७ करोड बराबरको दलहन आयात भएको छ। वीरगञ्ज भन्सार कार्यालयका अनुसार मुसुरो, चना, सिमी/राजमालगायत सात प्रकारका दलहन नेपाल भित्रिएका छन्। तर, गत आर्थिक वर्षको सोही अवधिको तुलनामा यस वर्ष दलहन आयात मूल्यका आधारमा २२ प्रतिशतले घटेको छ। गत आवको पहिलो १० महिनामा यही नाकाबाट रु १० अर्ब २१ करोड बराबरको दलहन आयात भएको थियो।
भन्सार कार्यालयका सूचना अधिकारी उदयसिंह विष्टका अनुसार चालु आवमा सबैभन्दा बढी रु ३ अर्ब २० करोड मूल्यको मुसुरो दाल आयात भएको छ, जुन गत वर्षको सोही अवधिको रु ४ अर्ब ५० करोडको तुलनामा उल्लेखनीय रूपमा कम हो। यसैगरी, रु २ अर्ब ४ करोडको सिमी/राजमा, रु १ अर्ब ९२ करोडको चना तथा रु ४२ करोड मूल्य बराबरको अन्य गेडागुडी आयात भएको छ। अघिल्लो वर्षको तुलनामा यी सबै दलहनको आयातमा कमी देखिएको भन्सार कार्यालयले जनाएको छ।
कमेन्ट गर्नुहोस्
view comments