नागरिकता किर्ते प्रकरणमा वीरगञ्जका मेयर सिंह पक्राउ

2 दिन पहिले प्रकाशित

जनकपुरधाम, जेठ १९ गते ।  वीरगञ्ज महानगरपालिकाका मेयर राजेशमान सिंह नागरिकता सम्बन्धी किर्ते तथा लिखत कसुर मुद्दामा पक्राउ परेका छन्। जिल्ला प्रहरी कार्यालय पर्साका अनुसार उनी सोमबार बिहान ठोरी गाउँपालिका–३ स्थित एक रिसोर्टबाट पक्राउ परेका हुन्। मेयर सिंहविरुद्ध गत जेठ १२ गते अदालतबाट पक्राउ पुर्जी जारी भएको थियो। पक्राउ पुर्जी जारी भएपछि उनी सम्पर्कविहीन बनेका थिए र केही समय मोबाइलसमेत बन्द राखेको प्रहरीले जनाएको छ।

मेयर सिंहमाथि नक्कली कागजातका आधारमा अर्काको छोरीलाई आफ्नै छोरी देखाई नागरिकता दिलाएको आरोप छ। उक्त विषय सार्वजनिक भएपछि गृह मन्त्रालयले छानबिन समिति गठन गरेको थियो। वीरगञ्जका स्थानीय लियाकत अलीले दिएको जाहेरीका आधारमा अदालतले पक्राउको अनुमति दिएको थियो। यसअघि प्रहरीले उनको निवासमा खानतलासीसमेत गरेको थियो। एक सातादेखि फरार रहेका सिंहलाई नियन्त्रणमा लिएर थप अनुसन्धान प्रक्रिया अघि बढाइएको प्रहरीले जनाएको छ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?