जनकपुरधाममा होटल पौवाको १९औँ शाखा सञ्चालनमा, उद्घाटनसँगै तीनदिने खाद्य महोत्सव
10 घन्टा पहिले प्रकाशित
जनकपुरधाम, जेठ १८ गते । नेपाली आतिथ्य सेवा क्षेत्रको स्थापित राष्ट्रिय ब्रान्ड होटल पौवाले आफ्नो १९औँ शाखा जनकपुरधाममा सञ्चालनमा ल्याएको छ। सोमबार आयोजित पत्रकार सम्मेलनमार्फत होटल व्यवस्थापनले नयाँ शाखा सञ्चालनमा आएको जानकारी दिँदै औपचारिक उद्घाटन आगामी जेठ २२ गते हुने जनाएको छ। उद्घाटनको अवसरमा तीनदिने ‘वृहत् खाना प्रवर्द्धन’ कार्यक्रम आयोजना गरिने भएको छ, जसमा होटल पौवाका विभिन्न शाखामा कार्यरत अनुभवी सेफहरूले तयार गरेका नेपाली तथा अन्तर्राष्ट्रिय परिकारहरूको विशेष प्रदर्शनी गरिनेछ।
होटल पौवाका उपाध्यक्ष ध्रुवराज न्यौपानेका अनुसार धार्मिक, सांस्कृतिक तथा आध्यात्मिक केन्द्रका रूपमा परिचित जनकपुरधाममा चारतारेस्तरको होटल सञ्चालनमा आउनु कम्पनीका लागि महत्वपूर्ण उपलब्धि हो। होटलमा विभिन्न सुविधासहित ६२ वटा आधुनिक कोठा रहेका छन्। स्विमिङ पुल, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरका सेमिनार हल, रेष्टुरेन्ट, जिम, साउना, स्टिम र स्पा लगायतका पूर्वाधार सञ्चालनमा आइसकेका छन्। होटलले नेपाली स्वाद, संस्कार र अन्तर्राष्ट्रियस्तरको आतिथ्य सेवा प्रदान गर्ने लक्ष्य राखेको जनाएको छ।
उद्घाटन समारोह तथा खाद्य प्रवर्द्धन कार्यक्रममा मधेश प्रदेशका आठवटै जिल्लाका उद्योगी, व्यवसायी, पर्यटनकर्मी, सञ्चारकर्मी तथा विभिन्न क्षेत्रका विशिष्ट व्यक्तित्वहरूको सहभागिता रहने अपेक्षा गरिएको छ। होटल पौवाले नेपाली स्वाद र आत्मीय आतिथ्यलाई प्रवर्द्धन गर्ने अभियानलाई निरन्तरता दिँदै आएको जनाएको छ।
होटल पौवाका अध्यक्ष दुर्गाप्रसाद भण्डारीले चुनौतीपूर्ण आर्थिक अवस्थाबीच पनि कम्पनीले देशव्यापी रूपमा सेवा विस्तार गरिरहेको बताउनुभयो। रुपन्देहीबाट सुरु भएको यात्रा जनकपुरधामसम्म आइपुग्दा पौवा नेपाली आतिथ्य उद्योगको स्थापित राष्ट्रिय ब्रान्डका रूपमा विकास भएको उहाँको भनाइ छ। हाल भैरहवा, बुटवल, पोखरा, काठमाडौं, धनगढी, जुम्ला, तानसेन लगायत विभिन्न स्थानमा होटलका शाखा सञ्चालनमा रहेका छन् भने नेपालगञ्जमा पाँचतारे होटल र पाल्पाको झिंगामारामा लक्जरी रिसोर्ट निर्माणाधीन अवस्थामा रहेका छन्।
प्रबन्ध निर्देशक विष्णु ज्ञवालीका अनुसार होटल पौवाले आगामी दशकभित्र ‘मिसन १००’ अन्तर्गत देश तथा विदेशमा आफ्नो उपस्थिति विस्तार गर्ने रणनीति अघि बढाएको छ। सामूहिक लगानी मोडलमार्फत सञ्चालन भइरहेको होटल पौवाले लगानीकर्ता र कर्मचारीलाई संस्थाको विकास यात्रामा साझेदार बनाउँदै नेपाली आतिथ्य सेवालाई विश्वस्तरमा स्थापित गर्ने लक्ष्य लिएको जनाएको छ।
कमेन्ट गर्नुहोस्
view comments