रौतहटको झाझ पुलमा विद्युत् कर्मचारीमाथि लुटपाट, मोटरसाइकल लिएर फरार

12 घन्टा पहिले प्रकाशित

जनकपुरधाम, जेठ १८ गते । रौतहटको गौर–पिपरा सडकखण्डअन्तर्गत दुर्गा भगवती गाउँपालिका–४ स्थित झाझ पुलमा आइतबार राति विद्युत् प्राधिकरणमा कार्यरत एक कर्मचारीमाथि लुटपाट भएको छ। गंगापिपरा फ्युज शाखामा दैनिक ज्यालादारीमा कार्यरत राजदेवी नगरपालिका–१ निवासी पंकजकुमार यादव ड्युटी सकेर घर फर्किने क्रममा अज्ञात समूहले उनको ना २९ प २९३२ नम्बरको ग्ल्यामर मोटरसाइकल लुटेर फरार भएको प्रहरीले जनाएको छ। घटना राति करिब ९ः४० बजे भएको बताइएको छ।

घटनाबारे राति १०ः२० बजे सूचना प्राप्त भएपछि इलाका प्रहरी कार्यालय गंगापिपराबाट प्रहरी नायब निरीक्षक जयप्रकाश पाण्डेको नेतृत्वमा टोली परिचालन गरिएको थियो। जिल्ला प्रहरी कार्यालय रौतहटका अनुसार लुटपाटमा संलग्न व्यक्तिहरू र मोटरसाइकलको खोजी कार्य तीव्र पारिएको छ भने घटनाबारे थप अनुसन्धान जारी छ। यसैबीच, स्थानीयवासीले गौर–पिपरा–समनपुर सडकखण्डमा रातिको समयमा सुरक्षा निगरानी कमजोर रहेको गुनासो गर्दै झाझ पुल क्षेत्रमा स्थायी प्रहरी बिट स्थापना गरी २४ घण्टा सुरक्षा व्यवस्था मिलाउन माग गरेका छन्। उनीहरूले पटक–पटक माग गर्दा पनि सुनुवाइ नभएकै कारण यस्ता आपराधिक घटना बढ्दै गएको बताएका छन्।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?